बारीमा चौकीदारी

  ।   २५ जेष्ठ २०७९, बुधबार ०९:३८

गोल्डेन बुढा
जुम्ला पातारासी २ का रामबहादुर सार्की खेतबारीमै चौकीदारको भूमिकामा भेटिन्छन् । गाउँलेको बालीनाली हेर्ने र गाउँको रीतिथिति बसाल्ने उनको काम नै हो । एकाबिहानै घरबाट निस्केर चारैतिरको खेतीयोग्य जमिनमा आँखा लगाउँछन् । पशुवस्तु खेतबारीमा छोडेको देखिएमा तत्काल कसको पशुवस्तु हो घरमै ल्याइदिन्छन् । पशुचौपाया छाडा छोडेबापत जरिवाना तिराउँछन् । उनले भनेको नमान्ने कोही छैन ।

रामबहादुर बाली हेर्ने एक्लो चौकीदार होइन । उनीसँगै ६ जना चौकीदार गाउँले भेलाबाट राखिएको छ । उनीहरुलाई ६ महिनाको जिम्मेवारी दिइएको छ । गाउँको चारैतिर छरिएर रहेको खेतीयोग्य जमिन रेखदेख गर्नु, जमिनमा लगाएको बालीनालीको निगरानी गर्नु उनीहरुको मुख्य काम हो ।

गाउँलेले रामबहादुर सार्की,श्रीभक्त सार्की,रणबहादुर बुढा,लाटो बुढा,बादी सार्की र सुकिल्ली कामीलाई चौकीदारको रुपमा नियुक्त गरेका हुन् । उनीहरुले बालीनाली हेरेबापत ६ महिनाको २७ हजार रुपैयाँ पाउँछन् । हरेक घरले रुपैयाँ उठाएर चौकीदारलाई दिने चलन छ । पछिल्लो समयमा गाउँमा आएको विकास योजनाबाट रकम बचाएर दिने गरिएको स्थानीय ताराबहादुर बोहोराले जानकारी दिए ।

६ महिनामा एक लाख ६२ हजार रुपैयाँ चौकीदारको लागि छुट्याइन्छ । चौकीदार जति खुुसी बनाउन सक्यो । उति धेरै बालीनाली सुरक्षित हुने स्थानीयको विश्वास छ । स्थानीय ताराबहादुर बोहोराले भने,‘गाउँलेको बालीनाली सबै चौकीदारको जिम्मामा हुन्छ । चौकीदारलाई जिम्मेवार बनाइन पटक पटक गाउँमा प्रोत्साहनका कार्यक्रम हुन्छन् ।’

गत चैतमा ६ जना चौकीदार राखियो । उनीहरुको अवधि असोजसम्मको छ । चौकीदारले गाउँले भेला गराउने देखि बालीनालीको सरक्षा गर्ने काम गर्छन् । प्रत्येक ६ महिनामा चौकीदार फेरिन्छन् ।

चौकीदार गाउँमा माइकिङ गर्छन् । गाईवस्तु छाडा रुपमा नछोड्न अपिल गर्छन् । यदि अटेर गरेको खण्डमा चौकीदारले आफ्नो नियम बमोजिम जरिवाना लिने गर्छन् । नगद भए ५० रुपैयाँसम्म प्रति पशुवस्तु र बालीनाली दिनु परेमा प्रति गाईवस्तु बराबर दुई केजी अन्न जरिवाना स्वरुप उठाउने गर्छन् । त्यो सबै चौकीदार मिलेर लैजान्छन् । यो उनीहरुको कमाइ हो । यो सिजन आलु,मकै,सिमी,कोदो लगाउने र जांै,गहुँ भित्र्याउने हो । अर्का चौकीदारी श्रीभक्त सार्कीले भने,‘गाउँको रीतिथिति बसाल्ने नै हामी चौकीदार हौं । राम्रोसँग नहेरे गाली पाइन्छ । राम्रोसँग चौकीदारी भूमिका खेलेमा सबैको हित हुन्छ । यो जिजुबाजेदेखि आएको चलन हो । अहिलेसम्म तोडमोड भएको छैन । ’

बिहान उज्यालो भएदेखि साँझ अँध्यारो नहुँदासम्म घर फर्कंदैनन् । उनीहरु अबेरसम्मै खेतबारीको कान्लामै देखिन्छन् । उनले भने, ‘बालीनालीमा गाईवस्तु पसेमा सम्बन्धित व्यक्तिको घरमा पुर्‍याइन्छ । जरिवाना स्वरुप नगद तथा बाली भराइन्छ । अटेर गर्नेको घरबाट भाडाकुँडा समेत उठाइन्छ । ’

चौकीदार राख्ने बेलामा सबै बाचा बन्धन गराउने प्रचलन छ । उनीहरु घरपालुवा पशुवस्तुदेखि जंगली जनावरसम्मको निगरानी गर्छन् । चौकीदार राखेको दिनबाट हुने कुनै पनि बालीनालीको क्षतिको जिम्मेदार उनीहरु नै हुन्छ । चौकीदार बिना बालीनाली जोगाउन कठिन छ । पहिले गाउँमा सबैभन्दा गरिब देखिने व्यक्तिहरु भेला गराएर गोलाप्रथाबाट चौकीदार चुनिन्थ्यो । तर अहिले गाउँलेले भेला बोलाएर गरिब, विपन्न र असहाय व्यक्ति चौकीदारका रुपमा छनोट गर्छन् ।

श्रीभक्तले भने,‘चौकीदार लाग्दा कमाएको रकमले छोराछोरीको स्कुल खर्च जुगाड हुन्छ । लत्ताकपडा र खान खर्चको व्यवस्थापनमा सहजता हुन्छ । हेरालो राख्ने चलनले पनि गरिबको पेटमा माड हाल्ने कार्यमा राहत मिलेको छ ।’ तल्फीमा ३ सय ४ घर छन् । सबै घरमा पशुपालन राम्रै गरिएको छ । पशुवस्तु चराउनको लागि बनै पिच्छे पालो गरिन्छ । बालीनाली लगाउने खेतीयोग्य जमिनतिर अहिले पशुवस्तु छोडिदैन र छोड्न पाइँदैन ।

जुम्लाको पातारासी लगायत जिल्लाका एक नगरपालिकासहित ७ पालिकामा चौकीदार राख्ने प्रचलन कायमै छ । कसैले हेरालो, कसैले नरालो र कसैले चौकीदारका रुपमा राख्छन् । उनीहरु सबैको भूमिका एउटै हुन्छ ।

यो सिजनमा खेतबारीमा मकै,आलु, कोदो,चिनु, सिमी र फापर लगाएको छ । लेकदेखि बेसीसम्मको सबै खेताबारीमा लगाएको बालीनाली हेर्ने जिम्मेवारी चौकीदारको नै हो । घर परिवारको नुनतेल गर्न लुगाफाटो फेर्न,बालबच्चालाई लेखपढ गर्न राहत मिल्ने गरेको चौकीदार बताउँछन् । रोजगारी छैन । परिवार पाल्न पनि धौधौ छ,’ २४ वर्षीय श्रीभक्त शाहीले भने, ‘घरायसी खर्च बालबच्चालाई पढाउन र लुगाफाटो नुनतेल गर्न सजिलो छ । भारी बोक्नु पर्दैन । दिनभर साथीहरूसँग रमाउदै दिन गएको पत्तै हँुदैन । छ जना साथीहरू सँगसँगै हुन्छौं । सजिलो हुन्छ ।’ काम गर्न गए खाइपाइ गरेर दिनको एक हजार रुपैयाँ कमाइ हुने शाहीले बताए ।

६ जनाको टोली बिहान उज्यालो हुनेबित्तिकै घरबाट निस्कन्छ । राति १० बजे घर फर्केर आउँछन् । खाना नास्ता बोकेर लैजाने गर्छन् । गाउँका अगुवाको घरको थाडो ९छतमा ० गएर डाको लगाउने गर्छन् । ‘बालीनाली गाईगोरु,भेडाबाख्रा,भैंसीहरु नछाडे आ गोरु गुवालाऔं, सुनेउँकी नाई गोरु गुवाला‌औं, नत्र अटेरी गरे जरिवाना पड्यौला ।’ भनेर ठूलो स्वरमा डाँको लगाइन्छ ।

२१ वर्षीय रामबहादुर सार्कीको घरमा आठ जनाको परिवार छ । आयस्रोत केही छैन । बुबा आमा काम गर्न सक्दैनन् । चारवटा बालबच्चा स्कुलमा जान्छन् । दुई बुढाबुढीले कमाइ गर्ने र घरको खेती वर्ष दिनसम्म खान लगाउन धौधौ हुन्छ । यो काम पाए पछि आफूहरुको दुख हटेको उनले बताए । ज्यानको बाजी राखेर पाटनमा यार्चागुम्बा टिप्न कालापहाडतिर जानुपर्छ । अरु उनीसँग केही विकल्पहरु छैनन् ।

रामबहादुरले गुनासो पोखे,‘चौकीदार भएपनि रोजगारीको अनुभूति बएको छ । स्थानीय स्तरमा केही रोजगारी पाइँदैन । गाउँमा आउने विकास योजना र अवसर आफ्नो मान्छे मात्र सरकारले सिफारिस गर्छन् ।

Next Post

कर्णाली सरकारको नीति, कार्यक्रम गरी खाने’ कार्यक्रम अभियान चलाइने

२५ जेष्ठ २०७९, बुधबार ०९:३८
जेष्ठ २५, २०७९ कर्णाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष ०७९र८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभामा मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘कर्णाली वृक्षारोपण वर्ष’ देखि ‘गरी खाने’सम्मका कार्यक्रम समेटिएका छन् । बहुउपयोगी र मूल्यवान प्रजातिका बिरुवा उत्पादन, […]

सम्बन्धित