कर्णालीलाई विकसित प्रदेश बनाउने गरी काम भइरहेको छ : उपप्रधानमन्त्री खड्का

  ।   ११ आश्विन २०८०, बिहीबार १६:५३

सुर्खेत — कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको दाबी गरेका छन् ।

भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्‍याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको बताए ।

भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाटगाउँसम्मको भेरी किनारका जनताका लागि भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोटमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बिहीबार उद्घाटन गरेका हुन् ।

‘डोल्पा, जाजरकोट, रूकुम, सल्यान र सुर्खेत जिल्लाका भेरी नदीसँग जोडिएका पालिकामा सडक, विद्युतीकरण, सिँचाइलगायतका सामाजिक सेवाका कार्यहरू गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो,’ उनले भने, ‘भेरीको पानी बबईमा खस्नुअघिनै भेरी किनारका पालिकामा उद्देश्य अनुसारका कामहरू सम्पन्न गर्छौं ।’

खड्काले आयोजनालाई तीव्रताका साथमा अघि बढाउन निर्देशन समेत दिएका थिए । भेरी–बबई आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजना सन्चालन गरिएको थियो ।

सुरूमा एक सय २५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरू गरिएको भएपनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्नेछ । खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका बाचा पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धतासमेत दोहोर्‍याएका छन् ।

खड्काले अर्थतन्त्राई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको दाबी गरे । ‘सरकारले कर्णालीलाई बजेट विनियोजनमा पहिलो प्राथमिकता दिएको छ,’ उनले भने, ‘आगामी दिनमा कर्णालीको समृद्धिका लागि सरकारले थप पहल गर्छ ।’

Next Post

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्यवस्था मिलाइन्छ: प्रधानमन्त्री

११ आश्विन २०८०, बिहीबार १६:५३
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्। प्रधानमन्त्री दाहाल आज कैलाश पर्वत र मानसरोवर ताल क्षेत्रको स्थलगत अवलोकनका लागि त्यहाँ पुगेका थिए। सो भ्रमणपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले हिन्दू तीर्थयात्रीहरूको […]