कर्णालीका सबै जिल्लामा कोरोना खोप अभियान शुरु

  ।   १५ माघ २०७७, बिहीबार १३:००

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । कर्णालीका सबै जिल्लामा निर्धारित समयमै निःशुल्क खोप अभियान शुरु गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको हो ।

हिमाली जिल्ला हुम्ला र डोल्पामा हवाइमार्ग र अन्य जिल्लाहरुमा स्थलमार्गबाट भ्याक्सिन ढुवानी गरिएको थियो । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ नाम दिइएको यो खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णालीका लागि ११ हजार ७८० जनालाई पुग्ने पठाएको थियो ।

कर्णालीका १२ वटा अस्पताललाई केन्द्र बनाएर खोप लगाउन थालिएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले बताए । आठ वटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ ।

प्रदेश अस्पताल खोप केन्द्रमा आज सबैभन्दा पहिले स्वास्थ्य निर्देशक खड्का, प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्का, कोरोना फोकल पर्सन डा नवराज केसीसहितका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले खोप लगाएका थिए ।

सरकारले पहिलो चरणमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सङ्क्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप लगाउने व्यवस्था मिलाएको हो । कर्णालीका लागि करिब २६ हजार खोप आइपुगेको छ । पहिलो मात्रा लगाएको चार हप्तापछि अर्थात २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्नेछ ।

यसैबीच, खोप अभियान सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले आम सर्वसाधारण खोपदेखि डराइरहेका बेला चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ खोप लगाउनु सकारात्मक सन्देश प्रवाह हुने बताए ।

उनले खोप अभियानमा पूर्ण सहयोग रहने बताउँदै प्रदेश सरकारले हरेक नागरिकलाई निःशुल्क खोपको व्यवस्था गर्न सङ्घीय सरकारसंग सहकार्य गर्ने प्रतिवद्धता जनाए । खोप अभियान सुभारम्भ कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्याल लगायतको उपस्थिति थियो ।

Next Post

सांसद राेकायाकाे एक महिनाको तलब अग्निपीडितलाई

१५ माघ २०७७, बिहीबार १३:००
कर्णाली प्रदेश जुम्ला (ख) का प्रदेश सभा सदस्य पदमबहादुर राेकायाले एक महिनाको तलब अग्नि पीडितलाई उपलब्ध गराएका छन । उनले अग्नि पीडितलाई गाउँमै पुगेर एक महिनाकाे तलब दिएका हुन । उनले तलब स्वरूप अाउने ४२ हजार रूपैयाँ अग्नि पीडितलाई दिएका हुन । कर्णाली प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री नरेश […]