राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यसबारे छलफल गर्न बैठक राखेका छन्।
ओलीले विश्वासको मत गुमाएलगत्तै सोमबार नै सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गर्नका लागि राष्ट्रपतिलाई आग्रह गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलुकी दलहरूलाई तीन दिनको समय दिएर धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गरेकी थिइन्। संविधानको उक्त धाराअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न सक्छन्।
यसैबीच जसपामा वैकल्पिक सरकार गठनबारे विवाद देखिएको छ। अध्यक्ष यादवले देउवाको नेतृत्वमा सरकार बनाउन चाहे पनि अर्का अध्यक्ष ठाकुर त्यो पक्षमा छैनन्। यसबारे गए राति विज्ञप्ति जारी गरेर ठाकुरले वैकल्पिक सरकार गठन गर्ने तथा सरकार निर्माण गर्ने उद्देश्य पार्टीको नरहेको र त्यसो गरिए मधेशी जनताको हितविपरीत हुने प्रष्टाएका छन्।
यस्तो अवस्थामा देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत (१३६) सांसद नपुग्ने देखिएको छ। तर एमाले नेता माधव नेपाल पक्षका सांसदहरूले राजीनामा दिए भने प्रतिनिधि सभामा रहेका सांसदको आकार खुम्चिन सक्छ। त्यसले बहुमतको सरकार गठन हुन सक्ने सम्भावना देखाउँछ।
स्रोतका अनुसार देउवाले आजको बैठकमा नेता नेपाललाई पनि बोलाएका छन्। नेपाल पक्षका सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका थिएनन्। प्रतिनिधि सभामा कांग्रेसका दुई निलम्बितसहित ६३, माओवादी केन्द्रका ४९, जसपाका दुई निलम्बितसहित ३४ सांसद छन्। राप्रपा, जनमोर्चा र नेमकिपाका पनि एकेक जना सांसद छन्।