पस्केको भात छोडेर भोकै हिडेको कहालीलाग्दो त्यो दिन

  ।   १९ असार २०७८, शनिबार ०७:३२

तत्कालीन शासन व्यवस्था र सम्पुर्ण राज्य प्रणाली माथी आम असहमति राख्दै नेपालमा नेकपा माओवादील २०५२ साल फागनु १ गतदेखि जनयुद्धको उद्घोष गर्यो । जनयुद्ध आफ्नै राप,ताप,नेतृत्व,नीति,भाषा,शैलीमा अघि बढ्यो । जनयुद्धका सकारात्मक र नकारात्मक दुबै पाटा रहे । जुन अहिले हामीले अनुभव,मुल्यांकन र प्रयोग गरिरहेका छौँ ।
भनिन्छ ‘हजारौंका सिंदुर पुछिए । लाखौँका संख्यामा अपांङ्ग,पीडित,साहराविहिन बने । ,अरबौँको भौतिक तथा आर्थिक क्षति हुनपुग्यो । हजारौंको बलिदानीबाट २५० बर्षदेखि चलिरहेको राजतन्त्र ढल्यो । संघीयता सहितको गणतन्त्रात्मक शासन व्यवस्थाको बिजारोपण भयो ।
जनयुद्धले सामाजिक विकृतिको केही हद सम्म उन्मुलन भयो । गाउँबस्तीमा जनचेतनाको पुर्ण विकास भयो । राज्यले करोडौँ खर्च गर्दा पनि हुन सकेको थिएन । जनयुद्धको नालीबेली अर्को लेखमा सविस्तार गर्नेछु । यो लेखमा म जनयुद्धले मेरो परिवारमा पारेको अनुभवका बिषयमा लेख्दैछु ।
जनयुद्धको शुरुवात हुदाँ नेपालमा के होला ? कसो होला ? के हो जनयुद्ध ? भन्ने अनुमान र अन्दाज लगाउनमै नेपाली जनतालाई ठिक्क थियो । हामीलाई सानै भएर होला यो बियषयमा बुझ्ने र बुझाउने प्रयत्न समेत भएन । जब जनयुद्धले एक प्रकारको गति लिईसकेको थियो । अनि मात्र माओवाद जिन्दावाद, नेकपा माओवादी जिन्दावाद जस्ता नारा गाउँघरका ढुङ्गा,धारा,पाटी,पौवा,स्कुलका भित्तामा काल्पनिक जस्तो देखिने प्रचण्डको तस्बिर सहितका केही थान पोस्टर पम्प्लेट र भित्ते नारा देखिदै थिए ।
जतिबेला जनयुद्धले राज्य सत्तालाई आच्छु आच्छु पार्दै उसको भौगोलिक सिमा समेत खुम्च्याई दिएको थियो । म पढाइको शिलशिलामा घरबाहिर शहरमा भएकोले खासै दुखको अनुभुति गर्न पाएको थिईन तर रेडियो र छापा तथा आम मानिसबाट राज्य र बिद्रोही पक्षबाट भएका घटना सुन्दा आङ सिरिङ्ग हुन्थ्यो । यसले देश अनिश्चितताको कालो बादल भित्र मडारिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो । राज्य र बिद्रोही दुबै पक्षबाट जनताले पाएको दुख यति दर्दानक थियो कि अहिले सम्झिँदा कथा जस्तो लाग्छ ।
हाम्रो मध्यमस्तरको परिवार थियो । बाबा पन्चायतकाल देखि स्थायी रूपमा विद्यालयको प्रधानाध्यापकमा काम गरिरहनु भएको थियो । माओबादीले हेर्ने दृष्टिकोण दलाल,सामान्ती पुजिपती,राज्यको नोकर,जस्ता अनेकन आरोप लागिरहन्थ्यो । हाम्रो परिवारका लागि यि शब्दै दैनिक भोजन जस्तै भएका थिए ।
विभिन्न जात,रङ्ग,पद,व्यवहारका जनयुद्धका सिपाही हुँ । सर्बहारा बर्गको मुक्तिका लागि आफ्नो जीवन बलिदानी गरेका हँु भन्दै चन्दाका लागि दैनिक बाबा सँग आउने लिने र घरमा बस्ने खाने उनीहरुको दैनिकी जस्तै थियो । दैनिक उनीहरुको चाहना बमोजिमको खाना र नाना व्यवस्था गर्नु पथ्र्यो । तरपनि विभिन्न समयमा माओवादी बाट बाबाले भौतिक तथा आर्थिक कार्वाही भोगी रहनु हुन्थ्यो ।
जनयुद्धले राप,ताप लिदै थियो । के जाती हो कुन्नी ‘सुजकस’ भन्ने अभियान चल्यो । जसको अभिप्राय एक घर एक पुर्णकालिन सदस्य बन्नुपर्ने भन्ने थियो । यो अभियानले धेरै गाउँहरुलाई मसान घाट जस्तो बनाएको अनुभुति हुन्थ्यो रे । गाउँबाट शहर पस्नु युवाहरुको बाध्यता थियो । गाउँमा सल्लाह गरेर केही मानिस ‘सुजकस’ अभियानमा लाग्नुपर्ने बाध्यता थियो । त्यो हाम्रो परिवारबाट सम्भावना भएन ।
रगत उमाल्ने क्रान्तिकारी गीत र भाषण सुन्दा माआवादीमा लाग्न मन लाग्ने गरेको साथीभाइहरु सुनाउँथे । ‘सुजकस’ अभियामा हाम्रो परिवारबाट सहभागिता नहुने निश्चित थियो । कुनैपनि सदस्यलाई माओवादीमा लैजाने उनीहरुको योजना थियो । घरमा कालो बादलले ढाक्यो । म घर गएको थिए । मेरो लागि आमाले मिठो मसिनो खाना बनाउदै हुनुहुन्थ्यो । किनकी शहरबाट पढेर गाउँ फकिएको थिए ।
घरपरिवारले केही दिन गाउँमा बसालेर पढनको लागि फेरी शहर फर्काउने योजना बनाउदै थिए । यहाँ तिमीहरु कोही नबस । हामी बुढाबुढी मात्र बस्छौँ भनेर बारम्बार भनिरहनु हुन्थ्यो । एकदिन जब आमाले भात पस्केर थालमा राख्दै हुनुहुन्थ्यो । भातमा दही थपिदिदै हुनुहुन्थ्यो । दहीभात मुखमा के राखेका थियौँ । एकाएक केही आवाज आयो । बाहिरदेखि सामान्ती दलाल त जा भन्दै एक हुल घर भित्र पस्यो ।
हाम्रो मुटुले काम गर्न छाड्यो । उनीहरुको निर्देशन बमोजिम घर बाहिर निस्कियौँ । उनीहरुको निर्देशन थियो ‘अहिले नै जो जस्तो अवस्थामा छस उस्तै अवस्थामा तु तेरो मालिककोमा गइहाल । मालिक भनेको राज्य पक्ष ।’
खाली खुट्टा,खाना नखाएको,मङ्सिरको चिसो महिना,अशान्त मन गोठमा पशु चौपाया अहिले सम्मको कमाई शताब्दी देखि पुर्खाको घर छोडेर हिड्नुको पिडा कस्तो थियो होला अनुमान गर्नुहोस त ! हामी उकालो लाग्यौँ । पुस्तौँ देखिएको कमाई छोडनु पर्दाको पिडा कहिल्यै भुल्न सकिदैन होला । स साना भएकोले हामीलाई त केही महसुस भएन । तर आमा बाबाको अनुहार हेर्दा लाग्थ्यो ‘पिडाको कुनै सिमा थिएन । ’
आमाले चामल हाल्ने माटोको भाडा(ढरो)मा भएको अलिकति चामल आफ्नो शरीरमा बाध्ने पटुका(पाउरो) मा आङचा हाल्नु भएको रहेछ । त्यो चामल हामीलाई खानको लागि होइन । देविदेवताका नाममा छर्किन । उनले सबै देविदेवताको नाममा चामल छर्किनुभयो । भोग प्यास केही थिएन ।
अध्यारो जङ्गलको बाटोमा कठिनाईपुर्ण अनिश्चित यात्रा चल्दै थियो । केही शुभचिन्तक लुकेर बीचबाटो सम्म सहज गर्न आइपुग्थे । ज्यानको जोखिम मोलेर भए पनि भेटन आइरहेका हुन्थ्ये । यदि उनीहरु भेटन आएको मात्र थाहा भएको भए सायद उहाँहरु जनयुद्धमा ज्यान गुमाएका ती हजारौं मानिसको खातामा थपिने थिए । धन्य केही भएन । उहाँहरु प्रती जिन्दगीभर आभारी छौँ ।
हामी विस्थापित भएर सदरमुकाम खलंगा तिर जाँदै थियौँ । एक्कासी बाईधारा भन्ने स्थानको ओरालोमा आमा चिप्लिनु भयो । धेरै तल पुग्नु भयो । कता जानु भयो, कति तल जानु भयो, मर्नु भयो कि बाँच्नु भयो । त्यो जङ्गलको अध्याँरोमा कसैले पनि अनुमान गर्न सकेनौँ । लाग्यो,‘ आमाको मृत्यु यही स्थानमा यसरी नै लेखेको रहेछ ।’ हामी आत्तियाँै । तनावले सिमा नाघेको थियो । जति बोलाउदा नी बोली आएन । सत्यको लडाइँमा थियौ सायद त्यही भएर होला आमा बाटोमा लडेर उठन खोज्दै गरेको अवस्थामा भेटायौँ ।
आमाले आफूसँग भएको चामल देविदेवताको नाममा चढाइसक्नु भएको थियो । एकपटक फेरी पीडा भित्रको खुसीले मन शान्त भयो । त्यो अध्याँरो रात भित्रको मन सुर्यको चम्किलो किरण झै उदाएको अनुभुति भयो । हाम्रो परिवारमा खुसिको सिमा रहेन । किनकी आमा आफै अब पुर्णरुपमा हिंड्न सक्छु भन्दै हिंड्न् थाल्नु भयो । आमालाई बोक्न पनि उतिबेला संभव थिएन ।
यसमा मेरो जीवन सङगीनीले पुर्णसाथ सहयोग र भरोसा दिईरहेकी थिईन । हिंड्दा हिंड्दै छालाचौर हुँदै जलजला भन्ने ठाँउ पुग्यौँ । त्यहाँ पुग्दा सम्म रातको २ बजेको थियो । पुर्याउन आएका दुई जना घर फर्किनु पर्ने थियो । अध्याँरोमै उनिहरु घर नफर्किएको अवस्थामा अर्कै हुनेवाला थियो । फेरी रातिको शुन्य समयमा रुवाबासी चल्यो । बिछोड कति दर्दानाक हुन्छ ,मैले त्यहीबेला भोगेँ ।
हाम्रो यात्रा अगाडि बढ्यो रातको अन्त्य सँगै बिहानीको सुरुवात हुने तरखरमा थियो । मंसिरको महिना भएकोले तुसारो परिसकेको थियो । खाली खुट्टा,रातभरिको हिंडाइ,तुसारो,पिडा भए डर के हो के ? जे भएपनि उज्यालो बिहानीको शुरुवातले केही नयाँ मोड लिने निश्चित थियो । आमा बाबाको लागि सबै भन्दा प्रिय आफ्नो सन्तान हुन्छ । यही कुरा प्रमाणित हुँदै थियो आमाबाबा बाट ।
उहाँहरुले उर्जा दिईरहनु भएको थियो । मानौ हामी कुनै सपनाको शहरमा जादैँछौ । हाम्रा सम्पुर्ण दुख एकाएक हराउने छ्न । बाटोभरी जोस जागर मात्र दिनु भयोे । आफ्नो सल (पछ्यौरा )लाई च्यातेर खुट्टामा बाँधीदिनु भयो । किनकी तल तुसारो थियो । उज्यालो संगै चेरे चौरमा पुगियो । चेरे चौर पुगेपछि सदरमुकाम खलंगा देखिन्थ्यो ।
राज्य नियन्त्रित इलाका हो यो । अब हाम्रो साथमा सरकार छ । सुरक्षा छ भन्ने लाग्न थाल्यो । तर बिडम्बना हरियो पोषाक धारी सरकारी सेना जस्ता देखिनेहरु लामबद्ध भएर देखा परे । उनिहरुको गस्ती रहेछ क्यार । केरकार गर्न थाले । तिमीहरु माओवादी हो,यस्तै रुप र शैलीमा बजार पसेर सुराकी गरिरहेका छौ । खै हात सिधा गर । कुईनु देखा । उठ,बस भन्दै निर्दयीपन देखाउन थाले ।
दैनिक घरमा सम्पत्ति धानेर कृषि काम गर्ने आमाबाबा र जिबनसाथीका हात खुट्टामा माओवादी सेना र सरकारी सेनाका तालिम लिएका भन्दा साना ठेला थिएनन् । मेरो भने कोमल शरीर थियो । मलाई काम गराउदैन थिए । धेरै बेरको अनुनय बिनय पश्चात बजार पस्ने अनुमती प्राप्त भयो । सायद मेरो बालापनले त्यतिबेला सम्म यो राज्य व्यवस्था कस्तो हो ? भन्ने बुझिसकेको थिएन ।
कर्णाली प्राबिधिक शिक्षालयको बाटो हुदैँ निरीह प्राणीको रुपमा विभिन्न अवरोधका छिचोल्दै बजार पुगियो । बजार पुगिसकेपछि हामीलाइ खासै समस्या थिएन । किनकी बाबाका धेरै चिरपरिचीत साथीहरू थिए । बाबा बस्ने होटेलहरु मागे अनुसारको खाना नास्ता दिन तयार थिए । बाबा जागिरे थिए ।
सबै घटनाबारे जानकारी दिएपछि तत्कालीन जिल्ला शिक्षा कार्यालयले बाबालाई अशोक नमुना विद्यालयमा काज राख्ने निर्णय गरिदियो । बाबाको नयाँ स्कुलमा जागिर शुरु भयो । बिस्थापित भएर आएका कसले के के दिन्थे । तर त्यो पाउनको लागि जिल्ला प्रशासन कार्यलयमा नाम लेखाउनु पर्ने हुन्थ्यो । बाबाको स्वाभिमान देखि अहिले गर्व लाग्छ तर उतिबेला रिस उठेको थियो । हामी बिस्थापित होइनौँ । म बिस्थापितको नाममा कुनै केही लिन्न भन्दै अडानमा रहनुभयो । न त नाम लेखाउन जानु भयो । नत केही लिनु भयो । धेरै संघ संस्था कोठामै आउँथे । राहत लिनुस भन्थे सबै बाबाका परिचित थिए । बिस्थापितको नाममा लिएका पैसा र सामानले कतिले कति कमाए ताजा छ तर हामीले एक गेडा चामल र दाल पनि लिएनाँै आज निर्धक्क मनले भन्न पाईएको छ ।
जन्म स्थान त्याग गरेर आईसकेपछि उता माओवादीले घरको सबै भएको सम्पत्ति लिदै घरमा पार्टी कार्यालय बनाएको जानकारी आउँथ्यो । समय बित्दै गयो । माओवादीको केही माथिल्लो नेतृत्वले बुझ्ने प्रयास गरेछन । बृहत रूपमा बुझेछन । दोषी नभएको बरु बिस्थापित हुँदा पार्टीलाई चन्दा लगायत अन्य कुराले घाटा भएको महसुस गरेछन ।
बल्ल थाहा भयो,‘तल्लो तहका कार्यकर्ताको हाम्रो परिबार सँग ब्यक्तिगत रिसिबी रहेछ । पापामारहरुको दुख दिने योजना रहेछ । ’करिब डेढ बर्षपछि माओवादी उच्चस्तरको नेतृत्वले बाबालाई तु आफ्नो घर फर्किन आदेश दियो । उनीहरुबाटै कमजोरी भएको जानकारी दियो । जे जति गरेपनि न कहालीलाग्दो दुखको घाउ दुख्न छोडथ्यो् नत पुर्खा देखि साँचेर राखेको सानोतिनो धन सम्पत्ति फिर्ता हुन्थ्यो ।
तर पनि बाबा आमाको सल्लाह बमोजिम घर फिर्ता हुने निर्णय भयो । म त फर्किन बबाा आमा जीवन साथी लगायत घर फर्किए । फर्किदा घरमा एउटा सिबेट भन्ने सँस्थाले दिएको फलामको चुलो बाहेक अरु केही बाँकी थिएन । जग्गा जमिनमा झारपात बाहेक उम्रिएको थियो । तर जन्म भुमी हो आमाबाबालाइ धेरै प्रिय लागेछ पुर्नबास गर्नु भयो ।
हामी आवतजावत गर्न थाल्यौँ । माओवादीले र सरकारले दुख नदिएको भए आज म नेपाल सरकारको अधिकृतको रूपमा कार्य गर्न पाउँदिन थिए होला । किनकी मैले दुख भित्र सुखको सम्भावना खोजे अनि ै लोकसेवा रोजेँ । एउटा सानो घर बनाएर जिल्ला सदरमुकाम परिवार सहित बस्छु । आमाबाबा लाई आफूसँग राखेर बस्न लाख अनुरोध गरिसके । आउनुहुन्छ । केहीदिन बिताउनु हुन्छ । अनि भन्नु हुन्छ ‘बाबू हामी त हाम्रो घर छोडेर तिम्रो शहर बस्न सक्दैनौँ । हाम्रा आफ्नै साथी,सङगी माटो,बन जङल,सहकार्य,समन्वय,पबित्र मन भएका सोझासादा गाउँ घर,नातागोता छ्न । हाम्रो चिन्ता नगर । तिमी अगाडि बढ । एक दिन अवस्य तिम्रो काखमा आउँछु भनेर आज सम्म सामान्य काम गरिरहनु हुन्छ । आशा छ ‘अबका केही दिनमा सम्पुर्ण दिनहरु बाबा आमा सङग बिताउने छु । बाबा आमाको त्यो स्वाभिमान मेरो जिन्दगीको मार्गदर्शन हुनेछ ।’

Next Post

फापर : गरिबको खाना,धनिको औषधि

१९ असार २०७८, शनिबार ०७:३२
गोल्डेन बुढा, गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमानीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन । कुनै बेला फापर पनि खान्छन भनेपछि हेला गरिन्थ्यो । फापर खाने भनेर हेपिन्थ्यो । फापरबाट लगड र ढ्यास्सु (बाक्लो रोटी) खाने भनेर गिजाउँथे । गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले पशुबस्तुलाई […]