जुम्लाबाट लामो तथा छोटो दुरीमा चल्ने यातायात व्यवसायीले मनपरी भाडा अशुल्न थालेपछि यात्रुले सास्ती बेहोरीरहेका छन । उनीहरुले स्थानीय प्रशासन रमिते बन्दा व्यवसायीको मनपरी चलेको आरोप लगाएका छन । अहिले व्यवसायीले चर्को भाडा अशुल्दा न स्थानीय प्रशासनले नियमन गर्न सकेको छ । नत स्थानीय प्रशासनमा बसेको बैठकले निर्धारण गरेको भाडादर कायम गर्न सकेको छ । उल्टै रमिते भएर टुलु टुलु हेरेर बसेकोले यात्रुलाई मार परिरहेको स्थानीय बताउँछन ।
यातायात सेवामा महंगो भाडा भएको भन्दै स्थानीय प्रशासनले व्यवसायी र यात्रुलाई मार नपर्ने गरेर भाडादर निर्धारण गरेको थियो । तर त्यो भाडादर कार्यन्वयन हुन सकेको छैन । स्थानीय जगतबहादुर परियारले यातायात व्यवसायीको मनपरीले यात्रु नराम्ररी प्रभावित बनेको बताए । उनले भने,’‘व्यवसायीले मान्छेको अनुहार हेरेर भाडा लिन्छन । उनीहरुको मनपरी छ । मनपरी भाडा अशुलेको बारेमा आवाज उठाउँदा बीचमै रोकिदिन्छन । ’
उनले भाडादरमा एकरुपता ल्याउन र जिल्लाभर एकै खाले भाडादर कायम गर्न माग गरे । यात्रुलाई पनि मर्का नहुने र व्यवसायीलाई पनि घाटा नलाग्ने गरि नयाँ भाडादर निर्धारण गर्न जरुरी छ । उनले भने,‘नत्र भने यात्रुलाई सास्ती नै सास्ती । व्यवसायीलाई मस्ती नै मस्ती हुनेछ । यो हामीलाई सैह्य हुनेछैन ।’
कोरोनाका कारण जनजीवन अस्तव्यस्त छ । एक महिना देखि सार्वजनिक सवारीका साधन सडकमा गुडिरहेका छन । तर सार्वजनिक सवारीको अनुगमनमा स्थानीय प्रशासनको अनुगमन छैन । जसले गर्दा यातायात व्यवसायीको मनलाग्दी छ ।
जुम्ला देखि लामो दुरीका सवारीसाधन सुर्खेत, नेपालगंज र काठमाण्डौँका लागि छुट्छन । सुर्खेत नेपालगन्ज सम्म बस,जीप, माइक्रोबस चल्छन । काठमाण्डौँ सम्म रात्री बस चल्छ । जुम्ला खलंगा देखि सुर्खेत सम्म ९ सय रुपैयाँ,नेपालगंज सम्म १ हजार ६९ रुपैयाँ र काठमाण्डौँ सम्म २ हजार ५ सय रुपैयाँ निर्धारण गएिको थियो ।
अहिले जीपले दुई हजार रुपैयाँ देखि दुई हजार ५ सय रुपैयाँ सम्म अशुलिरहेका छन । बसले एक हजार ५ सय रुपैयाँ देखि दुई हजार रुपैयाँ सम्म अशुल्ने गरेका छन । जसबाट जतिसक्यो त्यति नै भाडा उठाउँछन,एक यात्रु शिशिर थापाले भने,‘व्यवसायीको मनपरी छ । बोल्दिने कसले ? ’
स्थानीय प्रशासनलाई पटक पटक यातायात व्यवसायीले गरिरहेको लुटका बिषयमा जानकारी गराउँदा पनि कुनै सुनुवाई हुन नसकेको उनले बताए । उनले लामो दुरीका सवारीसाधन भन्दा छोटो दुरीका सवारीसाधनले ब्रह्मलुट गरिरहेको बताए । कोरोनाका कारण व्यवसाय धरापमा परेको भन्दै मनपरी भाडा लिइरहेको स्थानीय बताउँछन । व्यवसायी भाडा बढेको भन्छन्,उनले भने,‘यात्रुले जति आवाज उठाउदा पनि सुनुवाइ हुदैन । ’ बिना टिकट यात्रु चढाउने गरेका छन । जिल्ला प्रशासन कार्यालय जुम्लाले मनपरी रुपमा भाडा लिएको टिकट पेश गर्न भनिरहेको छ । तर व्यवसायी टिकट नदिएर यात्रु चढाउँछन ।
व्यवसायीले सडकमै काउण्टर खोलेर यात्रु चढाउँछन । काउण्टर बसपार्कमा खोलिएका छन । यात्रु बाटोमै चढाउँछन । मनपरी भाडा अशुल्न पनि काउण्टरमा टिक काटिदैन । व्यवसायीहरु प्रहरी प्रशासन छल्दै क्षमता भन्दा बढि यात्रु कोचेर यात्रा गरिरहेका छन । प्रहरी चौकी,ट्राफिक कार्यालय नजिकै यात्रु ओराल्ने र हिड्न लगाउने गर्छन । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाई यात्रुबाट बढि भाडा लिएको प्रमाण भेटिएमा कार्वाही हुने बताउँछन ।