पुस्ता संगै बदलिदै बालविवाहको रुप

  ।   ११ भाद्र २०७८, शुक्रबार १७:५०

जुम्ला कनकासुन्दरी गाउँपालिका ८ सन्यालबाडाकी ७९ वर्षीया सुवा सन्ज्यालले ९ वर्षको उमेरमा विवाह गरिन्। विवाह गर्दा उनी र उनको पतीको राम्रोसंग चिनजान थिएन। चौध पन्ध्र वर्ष भएपछि मात्र पतिपत्नी हो भन्ने थाहा भयो। कमै उमेरमा विवाह गर्दा उनले चार सन्तान गुमाइन्। दुई छोरा दुई छोरी। अहिले दुई छोरा दुई छोरी साथमा छन्।

उनले भनिन्,‘उतिबेला ७ वर्षको उमेरमै विवाह गर्ने चलन थियो। नौ वर्ष त धेरै माथिको उमेर हो। ’ न पढ्ने स्कुल थियो नत कुनै अवसर नै हुन्थ्यो। पुर्खाहरुले गर्दै आइरहेको कृषि पेसा अंगाल्नु बाहेक विकल्प थिएन। उनले थपिन्,‘कम उमेरमा बिवाह गर्दा शिशु तथा मातृमृत्युदर बढेको रहेछ। उहिले आमा बच्चाको धेरै मरिरहेका हुन्थे। गाउँमा न स्वास्थ्यकर्मी थिए। नत औषधिमुलो नै। सोडेनीको भरमा सुत्केरी हुनु पर्ने अवस्था थियो। ’ कम उमेरमा विवाह गरेपनि गाउँमै उब्जेको पोषिलो खानाले खासै समस्या हुन्थेन।

बालविवाह छोरीबुहारीको लागि काल नै भएकोले परिपक्क उमेरमा मात्र विवाह गर्न सुझाउँछिन्। बजै उमेरकी सुवा बालविवाहले छोराछोरी दुबैको भविष्य अन्धकार गराउने बताउँछिन। उनी गाउँमा आफ्नो सानै उमेरमा भएको विहेबारीको अनुभव सुनाउँछिन्। परिपक्क उमेरमा विवाह गर्न प्रोत्साहित गर्छिन्।

सिँजा गाउँपालिका १ धापाका अमरबहादुर शाही आफ्नो पुस्ताले चौध पन्ध्र वर्षको उमेरमा विवाह गर्ने गरेको बताउँछन्। उनले भने,‘बाजे बज्यैको पालामा ७ वर्ष देखि ९ वर्षको बीचमा विहेवारी गर्ने चलन थियो। बाबाको उमेर सम्म आउँदा चौध पन्ध्रमा सिमित रह्यो। कुल सोधेर छोरी ल्याउनु, मुल सोधेर पानी ल्याउनु भन्ने उखान प्रचलनमा थियो। अहिले कुलको कुनै मतलब छैन। चित्त बुझ्यो भने जो सुकै जात,वर्णको व्यक्तिसंग विहेवारी हुन्छ। पेटमै छोरी दिने चलन थियो। मर्ने बाँच्ने टुंगो हुन्थेन। त्यही पनि आफ्नो जाती मिल्नेसंग मात्र विहे गर्न दबाव हुन्थ्यो। उनले भने,’बाबा पुस्तामा दबावैदबावमा बालविवाह हुन्थ्यो। अभावैअभावमा जीन्दगी बित्थ्यो।’

बीचको अवधिमा बालविवाह घट्दो क्रममा थियो। तर पछिल्लो समयमा प्रविधिको बढ्दो प्रयोगले बालविवाह ह्वात्तै बढेको छ। आफुले बालविवाह गर्दा ठुलो समस्या भागेकोले भविष्यको पिढीलाई बालविवाह गर्न नदिनेमा उनी छन्। उनले भने,‘न कम उमेरको बुहारी भित्र्याउँछौँ। न त कम उमेरको छोरीलाई विवाह गरेर पठाउँछौँ। कानुनले तोकेको उमेर नपुग्दा सम्म विवाह हुन दिदैनौँ। ’कानुनले २० वर्ष पुरा भएर गरिएको बिवाहलाई बालविवाह भनिन्छ। त्यो भन्दा कम उमेरमा विवाह  गर्दा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ सम्मको जरिवाना गर्ने व्यवस्था छ।

सिँजाकी ६५ वर्षीया रघु शाहीले ९ बर्षको उमेरमा विवाह गरिन्। उनले विवाह गर्ने बेला उनको श्रीमानको उमेर २५ वर्षको थियो। त्यति ठुलो फरकमा घरिपरिवारको दबाबमा विवाह गर्नु परेको थियो।  उनका अनुसार त्यो बेला सौतामा जाने र बहुविवाह गर्ने क्रम निकै बढ्दो थियो। जसका कारण जारीप्रथा मौलाएको थियो।

युवायुवतीले आफ्नो राजिखुसीमा विवाह गर्न पाउँदैनथ्ये। २२ वर्षीया लक्ष्मी शाही अहिले मोवाइल र बढ्दो सामाजिक सञ्जालको प्रयोगले बालविवाह बढेको बताउँछिन्। उनले भनिन्,‘जसले गर्दा माध्यमिक शिक्षा हासिल गर्न नपाउँदै विवाह बन्धनमा बाँधिनु पर्ने अवस्था छ।’ यी तीनै पुस्ताको अनुभवले अहिले पनि बालविवाह बिकराल भइरहेको दर्शाउँछन्। तर पुस्तै पिच्छे बालविवाहको रुप पनि बदलिदै गएको देखिन्छ। जति धेरै शिक्षित उति धेरै विकृती मौलाउदै गएको लक्ष्मीको अनुभव छ।

प्लान इन्टरनेशल नेपालको आर्थिक सहयोगमा आत्म सम्मानका लागि सहकार्य क्याड नेपालको आयोजनामा भएको बालविवाह सम्बन्धि अन्तरपुस्ता संवाद कार्यक्रममा उनीहरुले बालविवाह पुस्ता अनुसार रुपान्तरण हुदै गएको बताएका थिए।

कनकासुन्दरी गाउँपालिकाका उपाध्यक्ष उर्मिला भण्डारी पहिलेको तुलनामा बालविवाह घट्दो क्रममा रहेको दाबी गर्छिन्। बाजेको पालामा गर्भमै तिर्थ गएर छोरी लिनदिने चलन थियो। उनले भनिन्,‘मेरो छोरी भइ भने तेरो छोराको,तेरो छोरी भइ भने मेरो छोराको भनेर बचन दिने गर्दथे। गर्भमै लिनदिने बचनले बालविवाह हुन्थ्यो। ’

बाबाको पालामा जन्मिसकेपछि बालविवाह गर्ने क्रम सुरु भयो। तर बालबालिका भएकोले विवाह गरेको थाहा हुन्थेन। तर बिहेवारी भइसकेको हुन्थ्यो। चौध पन्ध्र बर्ष पुगेपछि मात्र चिनजान हुन्थ्यो। घरबार चित्त नबुझ्नको सम्बन्ध बिच्छेद हुन्थ्यो। कतिपय आमाको बच्चा जन्माउन नसक्दा मृत्यु हुन्थ्यो। गाउँमा स्वास्थ्य संस्था थिएनन्।

उनले अहिले बालविवाह रोक्न स्थानीय सरकारले पनि तदारुकता देखाएको बताउँछिन्। उनले भनिन्,‘बालविवाह गर्नेको सेवा सुविधा रोक्छौँ। कानुनी ज्ञान दिलाउँछौँ। बालविवाह गर्दा उत्पन्न हुने असरका बिषयमा प्रशिक्षित गर्छौँ। ’

बालविवाह गर्दा पाठेघरमा असर पर्छ। रक्त अलपत्ता हुन्छ। ख्याउटे, कुपोषित र रोगी बच्चा जन्मदछ। जसका कारण आमा र बच्चाको स्वास्थ्य अवस्था निकै जटिल हुन्छ। जिल्ला स्वस्थ्य कार्यालयको तथ्यांक अनुसार ८ सय ६० जना बालिकाले स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गराएका छन्। जिल्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा १ सय ९० जना र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ जना बालिकाले गर्भ जाँच गराएको देखिन्छ।

पातारासी गाउँपालिकामा १३४ जना, कनकासुन्दरीमा ९० जना, सिँजा गाउँपालिकामा ६८ जना, चन्दननाथ नगरपालिकामा १९० जना, गुठिचौर गाउँपालिकामा ९५ जना, तातोपानीमा ६६ जना, तिलामा १४० जना र हिमामा ७७ जना बालिकाले गर्भ जाँच गराएका छन्। गत बर्षमा १ सय ८० जनाले निकै कमतौल भएको बच्चा जन्माएका छन्। यो पनि बालविवाहकै उपज भएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

Next Post

पक्की सिचाइँ कुलोले ५० रोपनी जमिन सिंचित

११ भाद्र २०७८, शुक्रबार १७:५०
जुम्लाको कनकासुन्दरी ७ बैदारबाडामा निर्माण भएको पक्की कुलोले ५० रोपनी जमिन सिंचित भएको छ । अहिले यहाँका किसान सहजै रुपमा सिचाइँ गरेर खेति गर्न थालेका छन । कच्ची कुलो हुँदा पटक पटक पहिरोले पुरिने र भत्किने भएकोले खेति गर्ने समयमा किसानलाई निकै सास्ती हुदै आएको थियो । कनकासुन्दरी ७ स्थित […]