सडकमा जमेको हिउँ पन्छाउन डोजर प्रयोग

  ।   २१ माघ २०७८, शुक्रबार १७:४१

जुम्ला,माघ २१।
बिहिवार देखि परिरहेको हिमपातका कारण कर्णाली राजमार्ग ठप्प भएपनि डोजर लगाएर हिउँ पन्छाउन थालिएको छ । एकाविहानै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईको टोलीले डोजर लिएर हिउँ पन्छाउन थालेको हो । कर्णाली राजमार्गको जुम्ला खण्डको सडकमा झण्डै एक फिट हिउँ जमेको छ । हिउँमा सवारी चलाउदा चिप्लिने डरले गर्दा सवारीसाधन चल्न सकेका छैनन ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल डोजरले हिउँ पन्छाउने कार्य भएपनि हिउँ थपिन थालेपछि सडक खुलाउन कठिन भइरहेको बताउँछिन । उनले भनिन्,‘हिउँले सडक ठप्प छ । बिहानैदेखि डोजर लगाएर हिउँ पन्छाउने प्रयास भइरहेको छ । तर निरन्तर हिउँ परिरहेकोले सडक खुल्न सकेको छैन । ’
सडक खुलाउनको लागि सदरमुकाम खलंगाबाट दुई डोजर प्रयोग गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी प्रसाईले सडक डिभिजनलाई सडक खुलाएर सडक सञ्चालन गर्न निर्देशन दिएको बताए । टोली लाम्रा गाउँ सम्म पुगेको थियो । सडकमा हिउँले थुनिएका केही सवारी सदरमुकाम पठाउने काम भयो । तर हिउँ थपिने भएकोले सडक खुलाउन सकिएको छैन । प्रमुख जिल्ला अधिकारी प्रसाइले भनिन्,‘हिउँ परिरहेकोले उच्च सतर्कता अपनाउनको लागि अपिल गरिएको छ । ’
हिमपातका कारण कर्णालीको सडक मार्ग खुलेको छैन । सडक खुलाउनको लागि प्रमुख जिल्ला अधिकारी प्रसाई,नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल,प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द,अनुसन्धान अधिकृत राजकुमार न्यौपाने र नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही र उपाध्यक्ष दिलमाया शाही सहितको टोली हिउ पन्छाउन डोजर लिएर सडकमा निस्किएको थियो ।
भारी हिमपातका कारण हवाइ सेवा समेत नराम्ररी प्रभावित बनेको छ । बिहीबार बेलुकादेखि परेको हिमपातले जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको छ । हिमपातले ठाउँठाउँमा पोल र तारमा क्षति पुगेपछि राष्ट्रिय विद्युत् प्रसारण लाइन अवरुद्ध भएको हो ।
जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेपछि बिजुली बाल्ने ग्राहक थपिएका छन् । विद्युत् अवरुद्ध भएपछि झन्डै तीन हजार पाँच सय ग्राहक प्रभावित भएका छन् । विद्युत् अवरुद्ध हुँदा नागरिकले मोबाइलसमेत चार्ज गर्न नपाउदा एक–आपसमा खबर आदान–प्रदानमा समस्या भएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।
नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलका अनुसार लगातारको हिमपातले विद्युत् पोल र तारमा क्षति पुगेको हुदा विद्युत् सेवा अवरुद्ध भएको छ । उनले भने, ‘कहाँ कति क्षति भएको त्यसको यकिन हुन सकेको छैन ।’ हिमपातकै कारण सडक अवरुद्ध भएकाले कर्मचारी पनि खटाउन नसकिएको उनले बताए । ‘हिमपातले क्षति पुगेको क्षेत्रका विषयमा विद्युत् प्राधिकरणलाई जानकारी पनि गराइदिन आग्रह गरिएको छ,’ उनले भने । विद्युत् अवरुद्ध भएको क्षति यकिन गरी मर्मत गरेर पुन: सञ्चालनमा आउन समय लाग्ने भएको छ । अझै हिमपात भइरहेकोले मौसम खुलेपछि मात्रै क्षति यकिन र मर्मत कार्य हुने उनले बताए ।
हिमपातका कारण जुम्ला ढाकिएको छ । जुम्लाको एक नगरपालिका सहित ७ वटै गाउँपालिकाले हिउँले सेताम्य भएका छन । जुम्ला हिउँले ढाकिएपछि जनजीवन निकै प्रभावित बनेको छ । बिहिवार विहान देखि एक्कासी बादल लागेर हिउँ पर्न थालेको थियो ।
सदरमुकाम आसपासमा झण्डै आधा फिट हिउँ जमेको छ । उच्च हिमाली भेगतिर दुई फिट सम्म हिउँ परेको स्थानीय बताउँछन । हिउँ परेपछि अत्यधिक चिसो बढेको छ । चिसोका कारण जनजीवन निकै प्रभावित बनेको छ ।
हिउँले विद्यालयको पठनपाठन रोकिएको छ । हवाइ तथा सडक यातायात पुर्णरुपमा ठप्प हुँदा यात्रु मर्कामा परेका छन । यो हिउँले किसानलाई निकै फाईदा पुर्याएको छ । सरकारी तथा गैरसरकारी कार्यालय खुल्न सक्ने अवस्थामा छैनन । हिउँदे विदाको अवसर पारेर खुलेको ट्युसन तथा कोचिङ सेन्टर चल्न सकेका छैनन ।
हिमाली क्षेत्रमा रहेका बस्तीतिर गाइबस्तुलाई दानापानी गर्न पनि असहज भइरहेको छ । चिसोले बालबालिका देखि बुढाबुढी बढी प्रभावित छन । कर्णालीको हुम्ला,मुगु,जुम्ला,डोल्पा र कालिकोटको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।
भारी हिमपात भइरहेकोले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन स्थानीय प्रशासनले अपिल गरेको छ । तिला गाउँपालिका ९ का मोतिराम बुढा हिमपातले बालीनाली सप्रिने बताउँछन । स्याउ बगैँचा व्यवस्थापनका लागि यो हिउँले निकै राहत मिल्ने किसान बताउँछन ।
हिउँ आउदै हिउँ खेल्न स्थानीय युवायुवती सदरमुकाम खलंगामा निस्केका छन । भारी हिमपात भएकोले अब बिस्तारै तातो बढ्दै जाने विश्वास गरिएको छ । यो बर्ष पुस महिनामा दुई पटक र माघ महिनामा एक पटक हिउँ परेको हो । हिउँले सिंगो कर्णाली सेताम्य भएको छ ।

Next Post

जुम्ला विमानस्थलको हिउँ पन्छ्याउँदै सुरक्षाकर्मी (फोटो फिचर)

२१ माघ २०७८, शुक्रबार १७:४१
जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ सुरक्षाकर्मीले पन्छ्याएका छन्। विहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले धावनमार्गको हिउँ पन्छ्याएको हो। धावनमार्गमा हिउँ हटाएपछि आजै जहाज अवतरण गर्न सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन्। धावनमार्गमा झण्डै एक फिट हिउँ जमेको थियो। हिउँ पन्छ्याउनका लागि नेपाली सेना […]