सामाजिक विकृतीविरुद्ध पातारासी

  ।   २६ फाल्गुन २०७८, बिहीबार १९:१४

११२ औँ अन्तराष्ट्रिय महिला दिवसमा जुम्ला पातारासी गाउँपालिकामा महिलाको एकै आवाज थियो,‘सामाजिक विकृती निर्मुल गरौँ । सभ्य समाज निर्माण गरौँ ।’उनीहरुले बालविवाह,बहुविवाह लगायतका घरेलुहिंसा अन्त्य गर्न आव्हान गरिरहेका थिए । देउडा खेलेर, सडक नाटक देखाएर गाउँपालिका भरी सामाजिक विकृतिविरुद्धको अभियान घनिभुत रुपमा अघि बढिरहेको सन्देश दिए ।
महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले यहाँको साँस्कृतिक पहिचान झल्काउदै महिला अधिकार र कर्तव्यको बारेमा महिला आफैले जागरण फैलाएको बताइन । उनले भनिन्,‘ग्रामिण क्षेत्रमा बेलाबखतमा सचेतना कार्यक्रम चल्छन । छोरी,बुहारीलाई शिक्षा, स्वास्थ्यमा महिलाको पहुँच र रोजगारीमा समान अवसरका बिषयमा छलफल हुने गरेका छन । जसले यहाँका महिलालाई अधिकार प्राप्तिका लागि गर्नु पर्ने सबै प्रकारका कामका बारेमा राम्रो संग थाहा छ । ’
आफ्नो भाषा शैली,संस्कार र संस्कृतिका अधिकतम प्रयोग गरेर सचेतना फैलाउने कार्य चलिरहेको पातारासी ४ की मायादेबी बोहोराले बताइन । उनले महिलाबीच एकता र सहकार्य जरुरी रहेकोमा जोड दिइन् ।
महिलाहरु प्रत्यक्ष आयआर्जनका क्रियाकलापमा जोडिनुपर्छ । महिला प्रति सबैको सम्मान भाव चाहिन्छ । उनले भनिन्,‘महिलालाई दोस्रो दर्जाको नागरिक मानी घरको चुलोचौको, बच्चाको स्याहार सुसार, अनुत्पादकशील कार्यमा लगाउने र परिवारको सेवामा मात्र सीमित राख्ने अवस्थाबाट मुक्ति दिलाउनुपर्छ । यही हो अहिलेको आवश्यकता । ’
महिला भएको कारण गर्भमै भु्रण नष्ट गर्ने, छोरी जन्मेपछि फरक दृष्टिले हेर्ने, किशोरी तथा बाल्यकालमा बलात्कृत हुनुपर्ने, सानै उमेरमा बिहे गरिदिने चलनको अन्त्य गर्न महिला बालबालिका शाखा पातारासी प्रतिबद्ध रहेको बताइन ।
अहिले पनि पातारासी गाउँपालिकाको लासीमा अल्पकालीन सेवा हाउस निमार्ण गरिएको छ । घर देखि समाजबाट पछाडी परेका महिला दिदीबहिनीको लागि त्यो अल्पकालिन सेवा हाउस निर्माण भएको जानकारी गराइन्।
महिलाप्रति हेर्ने दृष्टिकोण जबसम्म परिवर्तन हुँदैन, तबसम्म महिलाहरु पीडित भइरहनुपर्ने अवस्था रहेको स्थानीय सुवा खड्काले बताइन । नारीहरुको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक, राजनितिक दृष्टिकोणले सबै तहमा नारीको बाहुल्यतालाई अगाडि बढाएर लैजान माग गरिन ।
पातारासी गाउँपालिका ६ कि रमा भण्डारीले महिलाको हक अधिकारका लागि सबै लागि पर्नु पर्ने बताइन । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै महिलालाई दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो आउने गरेको बताइन ।
महिला र पुरुष बराबरी भनिएपनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । महिला तथा बालबालिका शाखाकी संयोजक भगवती गिरीले भनिन्,‘आधा आकाश ढाकेको नारीहरुको सम्मानमा हक, हित र अधिकारको सुनिश्चित गर्न नारी र पुरुष एक अर्काको परिपुरक हुन । अवसर र अधिकार पनि बराबरी हुनुपर्छ । यो समग्र नारीको आवाज हो । ’
नेपालको इतिहासमै पहिलो पटक संविधान सभाबाट जारी भएको नेपालको संविधान २०७२ ले केन्द्रदेखि स्थानीयतह सम्मको संघीय संरचनामा प्रमुख वा उपप्रमुख मध्ये एक महिला हुनुपर्ने बाध्यकारी व्यवस्थाले राज्यका सबै निकायमा महिलाको पहुँच स्थापित गरेको छ । संविधानको धारा ३८ मा महिलाको हक संरक्षित गरी सो हक हनन् भएको खण्डमा संवैधानिक उपचारको व्यवस्था समेत गरेको गिरी बताउँछिन ्।
पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले महिलाका अधिकारहरु संघीयतापछि संस्थागत हुदै गएको बताइन् । अझै महिलाका अधिकार कार्यान्वयन हुन नसकेको भन्दै अधिकार प्राप्तीका लागि स्वयम महिलानै सशक्त भएर अघि बढनुपर्ने उल्लेख गरिन् । कार्यपालिका सदस्य माया बुढाले अझै समान कामको समान ज्याला नपाउने र हरेक क्षेत्रमा महिला पुरुष बीचको विभेद कायमै रहेकोले साझा अभियान सञ्चालन गर्नुपर्ने बताए ।
पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले अधिकार प्राप्तीका लागि महिलाले घरबाटै संघर्ष र विद्रोह गर्नुपर्ने बताए । पिडा सहेर बस्ने, अधिकार पनि पाएनौ भन्ने महिलाकै कारण महिला हिंसा बढेको छ,उनले भने,‘महिला पुरुषबीचको विभेद अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव छैन् । त्यसैले आर्थिक,सामाजिक र राजनीतिक अधिकारमा महिलाको सम्मान पहुँच सुनिश्चिताका लागि निणार्यक बहस पैरवी आवश्यक छ । ’
पातारासी ६ का वडाध्यक्ष धनबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल लगायतले अहिले हरेक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागीता हुने गरेको बताए ।

Next Post

स्थानीय सरकारका पाँच बर्ष : समृद्धिको यात्रामा गुठिचौर

२६ फाल्गुन २०७८, बिहीबार १९:१४
जुम्लाको गुठिचौर गाउँपालिकाले पहिलो वर्ष सडक वर्षको रुपमा मनायो। प्रत्येक वस्तीमा सडक पुर्‍याउने तरिकाले योजना बनायो। अहिले हरेक वस्तीमा सडक खनिएको छ। ट्रयाक खुलेर सवारीसाधन गुडिरहेका छन्। दोस्रो वर्षमा विद्युत् वर्षका रुपमा मनायो। हरेक वस्ती बिजुलीले झलमल्ल नै बनायो। गाउँपालिका उज्यालो कार्यक्रम सञ्चालन गरेर जंगलको दियालो बाल्न स्थानीयलाई छुटकरा मिल्यो। […]