काम खोज्दै कालापहाडदेखि कर्णाली

  ।   २३ पुष २०८०, सोमबार १२:३२

मौसमी रोजगारको खोजीमा जुम्लीहरू कालापहाडतिर लस्कर लागिरहेका बेला भारत उत्तरप्रदेशको बलारामपुर, उत्रौलाका २८ वर्षीय रामकिसन बर्मा भने गत चैतमा काम खोज्दै जुम्ला आइपुगेका थिए । हरेक वर्ष दसैं तिहार सकिने बित्तिकै ताँती लागेर कालापहाड जाने जुम्लीहरूको चलनै जस्तो भइसक्यो । तर यो चलनमा केही वर्षयता फरक दृश्य देखिन थालेको छ ।

रामकिसन अहिले जुम्ला सदरमुकाममा घर रंगरोगनको काम गरिरहेका छन् । उनले जुम्लामा कामै काम पाइएको खुसी सुनाउँदै भने, ‘यहाँ थुप्रै काम पाइँदो रहेछ । कामको जहाँतहीं सम्भावना हुँदाहुँदै पनि कालापहाडमा जाने गरेको देख्दा चकित छु ।’ सदरमुकाम खलंगामा डेरा लिएर बस्दै आएका रामकिसन अचेल घर रंगरोगनको काममा व्यस्त छन् । नयाँ बनेका घरमा सजावटका सामग्रीहरू पुर्‍याइदिने र दक्ष कामदार खोज्ने काम पनि उनले गर्दै आएका छन् । रामकिसनले आफ्नो देश ठूलो भए पनि रोजगारी नपाइएको तर नेपाल सानो देश भए पनि काम नै काम पाइँदो रहेछ भनेर सुनाए । भने, ‘नेपालीहरू काम खोज्दै भारत गइरहेका छन् तर हामी भने काम खोज्दै नेपाल आइरहेका छौं ।’

रामकिसनलाई कामको कुनै कमी छैन । घर रंग्याउने, बुट्टा भरिदिनेजस्ता काम गर्न उनलाई भ्याइनभ्याई छ । अनि काम गरेअनुसार प्राप्त हुने कमाइबाट पनि उनी सन्तुष्ट नै छन् । दुई छोरा, एक छोरी र श्रीमतीलाई घरमै छोडेर आएका उनी अहिले मासिक एकदेखि डेढ लाख रुपैयाँसम्म घर पठाइरहेका छन् । रामकिसनले सुनाए, ‘गत वर्ष मात्रै जुम्लामा ५ लाख रुपैयाँ कमाए ।’

भारतको उत्तरप्रदेशका मोहमद अरिफ पनि तीन महिनादेखि जुम्लामै छन् । भारतमा काम नपाएपछि जुम्ला आएको उनले सुनाए । यतैको कमाइबाट भारतमा रहेका दुई छोराछोरी र श्रीमतीको खर्च धानिरहेको उनले बताए । औसतमा मासिक ४० हजार रुपैयाँ कमाइरहेका मोहमद सरकारी कार्यालय, अस्पताल, व्यापारिक भवन, होटल तथा निजी घर सजाउने काम गर्छन् । उनको काम सदरमुकाममा मात्रै सीमित छैन । काम गर्दै उनी गाउँपालिकाका केन्द्रहरूमा समेत पुगिरहेका हुन्छन् । ‘कर्णालीमा रोजगारीको काम धेरै रैछ,’ उनले भने, ‘तर पनि नेपालीहरू कालापहाड किन जान्छन्, बुझ्न सकेको छैन ।’

रामकिसन र मोहमद प्रतिनिधि पात्रमात्र हुन् । उनीहरूजस्ता झण्डै ५ सय बढी भारतीय कामदार अहिले जुम्लामा कार्यरत छन् । उनीहरू कपाल काट्नेदेखि कवाडीका सामान संकलन गर्ने, घर सजावट गर्ने र मिठाई पसल चलाउनेसम्मका काम गरिरहेका छन् । कतिपय भारतीय कामदार भने सवारीसाधन मर्मत र सडक पिच गर्ने काममा पनि खटिएको देखिन्छन् । रामकिसनले आफ्नो टोलीमा पाँच जना भारतीय कामदार राखेका छन् । तीमध्ये कतिपय वायरिङको काम गर्छन् । कतिपय भने प्लबिङको काम गर्छन् । सबै जनाले औसतमा मासिक २५ हजार कमाइरहेको उनले बताए ।

झण्डै एक दशकअघि कालापहाडमा काम गर्न पुगेका जुम्ला तिला–९ का बिर्खबहादुर बुढा लस्कर लागेर कामको खोजीमा भारत जाने क्रम पछिल्ला वर्षमा अलिक घट्न थालेको बताउँछन् । ‘पहिले कालापहाड नगए रोजीरोटी नै चल्दैन भन्ने भ्रम थियो,’ उनले भने, ‘अब काम गर्न सके रोजगारीको सम्भावना पनि जिल्लामै छ भन्ने धारणा बढ्दै गएको छ ।’

पाँच वर्षयता बिर्खबहादुरलाई पनि कालापहाड धाउनु परेको छैन । उनी जिल्लामै गह्रा सुधारका काम गर्ने, घर बनाइदिने, सिंचाइ कुला बनाउनेदेखि गिट्टी बालुवा संकलन गर्नेजस्ता काम गरिरहेका छन् । उनले कालापहाडमा काम गर्दा भारु १० हजार कमाइ हुने बरु जिल्लाभित्रै काम गर्दा उस्तै परे १ लाख रुपैयाँसम्म कमाउन सकिने अनुभव सुनाए । ‘आफ्नो जिल्लामा काम गर्न लाज मान्ने चलनले आफैंलाई पछि पारेको अनुभूति भइरहेको छ,’ उनले भने ।

भारतीयहरू मात्रै होइन जुम्लामा सुर्खेत, नेपालगन्ज, बाँके, बर्दिया, सल्यान, जाजरकोटबाट पनि कामको खोजीमा आउनेहरू भेटिन्छन् । बर्सेनि कालापहाड गइरहने सुर्खेत दशरथपुरका उमेश बुढा यो पटक जुम्लामै डकर्मीको काम गरेर दुई महिनामा ५८ हजार रुपैयाँ कमाए । ‘कालापहाड त पुर्खाहरूको स्मरण गर्न मात्रै जानेजस्तो भइसक्यो,’ उनले भने, ‘काम गर्ने जाँगर र पाखुरा भए अहिले त कर्णालीमै काम फालाफाल छ ।’

Next Post

कर्णालीमा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता

२३ पुष २०८०, सोमबार १२:३२
राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीमा गठबन्धन दलले उम्मेदवारी दर्ता गराएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धन दलबाट अन्यमा नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले उम्मेदवारी दिएका छन् । त्यस्तै महिलातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल दैलेख, दलित कोटामा माओवादीका विष्णु विक रहेका छन् । यस्तै एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र […]

सम्बन्धित