कर्णाली बैशाख महिनामा हिउँले ढाकियो (फोटोफिचर)

  ।   ९ बैशाख २०७८, बिहीबार २१:१३

यो वर्ष कर्णालीमा बैशाख महिनामा हिउँ परेको छ। पालुवा पलाएर जताततै हरिया भइसकेको बेला हिउँले ढाकेर सेताम्य भएको हो। कर्णालीमा कार्तिकदेखि फागुन महिनाको अन्तिमसम्म हिउँ परेको हुन्थ्यो। यो पटक हिउँदका तीन महिना हिउँ परेन। बैशाख महिनामा हिउँ परेको हो।

यहाँको पातारासी, गुठिचौर गाउँपालिका, तिला सिँजा क्षेत्रमा हिमपात भएको हो। कर्णाली हिउँले ढाकिएको छ। लामो समयपछि हिउँ पर्दा किसान उत्साहित छन्। यो पटक परेको हिउँ र बर्षाले असोज कात्तिकमा उत्पादन हुने अन्न सप्रने देखिन्छ। चिनो, कागुनो, मकै, सिमि र फापर उत्पादनमा यो हिउँले फाइदा पुर्‍याउनेछ।

अब मौसम सफा हुने वित्तिकै खेतबारीमा खनजोत लाग्ने किसानले तयारी थालेका छन्। सोमबारदेखि बर्षात भएपछि अत्यधिक चिसो बढेर हिउँ जमेको स्थानीय बताउँछन्। कर्णालीको डोल्पा र हुम्लामा सदरमुकाममै हिउँ जमेको छ। जुम्ला, कालिकोट र मुगु जिल्लाका उच्च भूभागमा हिउँ परेको हो। हिउँ परेपछि चिसो बढेको छ।

उच्च हिमाली जिल्लामा स्थानीय वायुको प्रभावले बर्षातपछि हिमपात भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महासाखाकी मौसमविद् गंगा नगरकोटी बताउँछिन्। स्थानीय वायुको प्रभावले बर्षात र चट्याङ परेको छ,’ उनले भनिन् ’सोमबार रातिबाट पश्चिमी वायु सक्रिय भएपछि बर्षात पछि हिमपात भएको हो।’

हिउँदमा पर्ने हिउँ बर्षामा पर्न थालेपछि कर्णालीबासी अचम्मित छन्। खडेरीले आजित भएका कर्णालीवासी बर्षासंगैको हिमपातले खुसी छन्। जुम्लाका जीवनबहादुर बुढा हिमपातले धुला, धुलोबाट लाग्ने रोग भाग्ने बताउँछन्। खडेरीले जताततै डढेलो लागेको थियो। धुँवा र धुलोले निकै प्रदूषण बढेको थियो। उनले भने,‘यो पटकको हिउँ र बर्षाले सबै हटायो। जमिनमा चिस्यान पैदा गरेर किसानको मुहारमा खुसी ल्यायो।’

Next Post

कर्णालीले बनाउँदै समावेशीकरण नीति

९ बैशाख २०७८, बिहीबार २१:१३
कर्णाली प्रदेश सरकारले ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीति’ बनाउन शुरुवात गरेको छ। प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिष्द कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा आयोजित कार्यक्रमबाट सो नीति बनाउन थालिएको हो। मुलुकमा कर्णाली प्रदेशले पहिलोपटक बनाउन लागेको नीति विशेषज्ञ लीला अधिकारीले नीति निर्माणको प्रारम्भिक मस्यौदाको ढाँचा र त्यसमा समाविष्ट […]