फापर : गरिबको खाना,धनिको औषधि

  ।   १९ असार २०७८, शनिबार ०८:२५

गोल्डेन बुढा,
गरिबको खाना भनेर चिनिएको फापर अहिले धनीमानीले औषधिको रुपमा प्रयोग गर्न थालेका छन । कुनै बेला फापर पनि खान्छन भनेपछि हेला गरिन्थ्यो । फापर खाने भनेर हेपिन्थ्यो । फापरबाट लगड र ढ्यास्सु (बाक्लो रोटी) खाने भनेर गिजाउँथे ।
गुणकारी अन्न फापरको विशेषता नबुझ्दा गाउँघरतिर पनि हुने खानेले पशुबस्तुलाई दानाको रुपमा प्रयोग गर्थे । गरिबले मात्र विकल्प नहुँदा बाध्यतावस फापरका परिकार खाने गर्थे । फापरको खान्कीले पनि गरिब धनिको दुरी बढाउँथ्यो । फापर मानवस्वास्थ्यका लागि अतिउपयुक्त, लाभदायक, स्वास्थ्यवद्र्धक खाद्यान्न मानिन्छ । तर महत्व नबुझ्दा फापर लोप हुने अवस्थामा पुगेको छ । पहिला–पहिला हिमाली र पहाडी भेगमा प्रशस्त लगाइने यो बाली अहिले कतैकतै मात्र देख्न सकिन्छ ।
फापरका विभिन्न जाति भएतापनि तिते र मिठे गरी दुई जातको खेती धेरै हुने गरेको पाइन्छ । फापरमा २४ भन्दा ज्यादा पौष्टिक तत्व पाइने हुँदा यसको लोकप्रियता बढ्दै गएको छ । हाल आएर धेरैले यसको महत्व बुझ्न थालेका छन् । नेपाली खानामा फापरका कयौं परिकार बन्ने भएपनि अहिलेका युवायुवती भने यसबारे जानकार छैनन्।
चाडपर्वमा मात्र नभई जुनसुकै बेला पनि खाजा वा खानाका रुपमा खान मिल्ने फापर हेपिएको अन्नको रुपमा लिने गरिन्छ । मकै, कोदो, धानलगायत अन्य बाली जस्तो गोडमेल गर्नु नपर्ने, खनजोत गरेर छर्नु मात्रै पर्ने फापर अहिले औषधि सावित भएको हो । ग्रामीण समुदायका मानिसलाई सहरीया परिवेशले आकर्षण गरेको हुनाले मौलिक बालीहरु लोप हुँदै गएको पाइन्छ । फापरमा पाइने तत्वहरुको उपयोगिताको बारेमा धेरै अनुसन्धानपत्रहरु प्रकाशित छन् । फापरमा स्वास्थ्यका दृष्टिकोणबाट पनि एक उत्कृष्ट वनस्पतीय भोजन भएको स्वास्थ्यकर्मीहरुले भन्ने गरेका छन ।
फापरमा प्रशस्त मात्रामा पाइने खनिजहरु जस्तै म्याग्नेसियम शरीरलाई स्वास्थ्य राख्ने आवश्यक तत्वहरु हुन्। फापरमा प्रशस्त मात्रामा रेशादार तत्व, भिटामिन बी १, बी २ र बी ६, प्रोटिन, खनिज पाइन्छ । मासु नखाने साकाहारीका लागि फापर प्रोटिनको धनी स्रोत हो । फापर मधुमेह नियन्त्रणका लागि लाभदायक खानेकुरा हो ।
शरीरमा ग्लुकोज तह लगाउने मात्र होइन, फापरको सेवन रगतको कोलेस्टेरोल घटाउन पनि सहयोगी हुने एक वैज्ञानिक तथ्यले बताउँछ । फापरको पिठोमा रगतमा कोलेस्टेरोल घटाउने र पित्तको पत्थरी हुनबाट बचाउने गुण हुन्छ । साथै यसको सेवनबाट मोटोपन पनि कम हुनसक्ने उनीहरुको राय छ ।
फापरमा पाइने फाइबर ग्लुकोज मेटाबोलिज्ममा प्रभावकारी हुन सक्छ ।भनिन्छ, ‘स्वस्थ्यकर जीवन जिउन वयस्क मानिसले २५–३८ ग्राम फाइबर सेवन दिनहुँ गर्नुपर्छ ।’ यसरी फापरको सेवनबाट शरीरले प्रशस्त फाइबर प्राप्त गर्न सक्छ । फापरको सेवनबाट उमेरसँग हुने मानसिक चेतनाको कमिलाई रोक्न सक्ने वैज्ञानिकहरुको अनुमान छ । यसरी मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन र स्मरणशक्ति बढाउन फापर खानु लाभदायक हुन सक्छ ।
फापरको पिठोबाट बनेको नुडल, कुकिज खान सकिन्छ । जापान जस्तो औद्योगिक मुलुकमा सोवाको उत्पादन गरेर विदेशमा समेत निर्यात गरेको देखिन्छ ।फापरले अन्तराष्ट्रिय बजारमा नाम र दाम कमाउन सक्छ ।
किन खाने फापर?
फापर मिनेरल, भिटामिनको राम्रो स्रोत मानिन्छ । त्यतिमात्र होइन, यसमा कार्बोहाइडेड, फाइबर, प्रोटिन, सुगर, चिल्लो पदार्थ र पानीको मात्रा पनि पाइन्छ । धेरैका लागि औषधि सावित भएको छ । फापर उच्च रक्तचाप हुनेका लागि पनि अत्यन्त राम्रो खाना मानिएको छ । मुटुसम्बन्धी समस्या हुनेले पनि नियमित फापर खाँदा फाइदा पु¥याउँछ। नियमित फापर सेवन गर्नेलाई अन्यलाई भन्दा क्यान्सर लाग्ने जोखिम कम हुन्छ । फापरको प्रयोगले हड्डीसम्बन्धी समस्या आउन नदिन पनि नियमित फापरका परिकार सेवन गर्दा उत्तम मानिन्छ ।
फापरबाट केके बनाउन सकिन्छ?
फापर गरिबको खाना भए तापनि धनीका लागि साँचिक्कै औषधि साबित भएको छ । फापरबाट हाम्रो देशमा कयौं लोक खानाहरु बनाउन सकिन्छ भने विदेशमा पनि यसका परिकार कयौं छन ्। फापरको कलिलो साग उसिनेर भटमासको छोप हालेर सादेर खाँदा पनि अति नै स्वादिष्ट हुन्छ । साग पकाएर खाँदा पनि तरकारीको रुपमा प्रयोग गर्न सकिन्छ । फापरको पिठोबाट ढिँडो बनाई खाँदा पनि स्वादिष्ट हुन्छ । फापरको पिठोको सेल–रोटी पनि बनाउन सकिन्छ ।तिते फापरको परिकार बनाएर खाँदा हल्का तितो हुने भएकोले केटाकेटीहरुले मन नपराउने र फापरको परिकारहरुमा नव युवाहरुको ध्यान नजानाले लोप हुन थालेको छ । तर मिठे फापरभन्दा तिते फापर स्वास्थ्यवद्र्धक मानिन्छ । तिते फापरको पिठो र कोदोको पिठो मिसाएर ढिँडो बनाएमा अत्यन्त नरम हुन्छ । चाडपर्वमा मात्र नभई जुनसुकै बेलामा पनि खाजा वा खाना खान मिल्ने फापरलाई हेपिएको बालीको रुपमा लिएको पाइन्छ । मकै, कोदो, धान लगायत अन्य बालीलाई जस्तो गोडमेल गर्नु नपर्ने खनजोत गरेर छरे पुग्ने फापर अहिले छर्न छोडिएको छ तर यसको महत्व र माग सहरी क्षेत्रमा दिनानुदिन बढ्दो छ । मुलुकका सहरी क्षेत्रमा होस या विदेशमा फापरका धेरै आधुनिक खाना बन्न थालेका छन् । फापरबाट चाउचाउ, केक, डोसा, पकौडा, सलाद, सुप,आदि परिकार बन्छन्।

Next Post

कर्णाली प्रतिष्ठानको फयाकेल्टी कल्याण समितिमा लिम्बु निर्वाचित

१९ असार २०७८, शनिबार ०८:२५
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको फ्याकेल्टी कल्याण समितिमा डा. सुर्यमान लिम्बु निर्वाचित भएका छन । शनिबार भएको निर्वाचनमा डा. अनुस्मृति पाललाई पराजित गर्दै डा. लिम्बु अध्यक्षमा निर्वाचित भएका हुन । यसअघि तदर्थ समितिको संयोजक डा. हरीहर देवकोटा थिए । निर्वाचन समितिका संयोजक सहप्रध्यापक डा. पुजनकुमार रोकायाका अनुसार उपाध्यक्षमा […]