बर्षाले खेतमै थन्कियो मार्सीधान

  ।   १ कार्तिक २०७८, सोमबार १४:२४

जुम्ला चन्दननाथ नगरपालिका १० का किशोर न्यौपानेको दशभारी खेतमा धान खेती गरिएको छ। जसमध्ये तीनभारी खेतमा लगाएको धान काटिसकिएको छ। भारी बर्षा भएपछि उनी निकै चिन्तित छन्। सबै खेतमा उनले मार्सी धान रोपेका थिए। ‘यो पटक धानबाट आशा गर्ने अवस्था रहेन। पानी परिरहेको छ। सबैजसो धान काटेर खेतमै छरपष्ट अवस्थामा राखिएको छ’, उनले भने, ‘बर्षाले केही धान झारीसकेको छ।’

नकाटेको धानमा त खासै असर पर्ने देखिँदैन तर काटेर खेतमा राखेको धान कुहिने त्रास छ। ‘अझै दुई दिन पानी पर्ने भन्छ, यो वर्ष धान खेती नष्ट हुने भइसक्यो’, उनले भने,‘बर्षाबाट जोगिएको धान पनि निकै बेरसम्म सुकाएर घर भित्र्याउनु पर्ने अवस्था छ।’ गत वर्षतिर पनि पानी पर्थ्याे तर धान काटिसकेको हुन्थेन। यो पटक धान काटिसकेर खेतमा सुकाउन राखेको अवस्थामा पानी परेकोले किसान चिन्तित छन्।

उनको गाउँमा रहेका ९९ प्रतिशत खेतमा धान काटिसकेका छन्। बर्षाले चिस्यान प्रदान गर्ने भएकोले घुनकिरा लाग्ने सम्भावना देखिन्छ। खेतमै कुहिने डरले किसान चिन्तित छन्। यो समय धान भित्र्याउने समय भएकोले किसानले धमाधम धान भित्र्याइरहेका छन्। अर्का किसान डिल्लीबहादुर बुढाले भने,‘धान खेति राम्रै भएको थियो। बर्षाले खेतमै झार्न थालेपछि समस्या भइरहेकाे छ। उन्नत जातको धानमा खासै समस्या नभएपनि मार्सी धानमा यो बर्षाले नकारात्मक प्रभाव पार्ने देखिन्छ।’

कृषि प्राविधिक लछिराम महत बर्षाले काटेको धानमा समस्या ल्याउने बताउँछन्। उनले घाम नलाग्दासम्म काटेको धानलाई नसुकाउन सुझाव दिए। ‘काटेको धानबाली घाम नलाग्दासम्म खेतमै राख्नुपर्छ। घाम लागेपछि दुई तीन दिन सुकाएर मात्र घर भित्र्याउनु पर्छ। यो बाहेकको विकल्प अन्य छैन’, उनले भने।

निरन्तर बर्षा हुँदा धान चलाउनु हुँदैन। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बर्षाले नकाटेको धानलाई केही नगर्ने बताउँछन्। तर काटेको धानमा निकै ठूलो असर पुर्याउने उनले बताए। उनले भने,‘बर्षाले नकाटेकोलाई समस्या गर्दैन, काटेकोलाई गर्छ। चिस्यान बढी हुन्छ। जसका कारण घुनकिरा लाग्छ। राम्रोसंग सुकाउनुपर्छ।’

बर्षाले अधिकांस धान खेतमै झर्ने उनले बताए। धान भण्डारण गर्नको लागि १२ प्रतिशत मात्र चिस्यान हुनुपर्छ। तर यो वर्ष धान बर्षासंगै भित्र्याउन थालेको कुहिने पनि उत्तिकै डर छ। उनले भने,‘किसानलाई नआत्तिएर धान भित्र्याउन आग्रह गरेका छौँ। बर्षा रोकिने वित्तिकै लगातार सुकाएर मात्र धान भित्र्याउनको लागि भनिएको छ।’ जुम्लामा २९ सय हेक्टरमा धान खेती गरिन्छ। जसमा १४ सय हेक्टरमा मार्सी धान रोपिएको छ। १५ सय उन्नत जातको धान लगाइन्छ। आइतबार साँझदेखि निरन्तर बर्षा भइरहेकोले निकै समस्या भएको किसान बताउँछन्।

Next Post

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

१ कार्तिक २०७८, सोमबार १४:२४
दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ। यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ। नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ […]