कर्णाली नदीमा आएको बाढीले सिँचाइ आयोजनाको नहरको बाँध फुट्यो

  ।   २ कार्तिक २०७८, मंगलवार १४:४२

कर्णाली नदीमा आएको बाढीले राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको नहरको बाँध भत्काएको छ। इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार नदीको बाढी सिँचाइ आयोजनाको नहरमा पसेको छ।

नदीको बाढी सिँचाइ आयोजनाको नहरमा पसेपछि जानकी गाउँपालिका र टीकापुर नगरपालिकाको अधिकांश भूभाग जोखिममा परेको छ। कुनैपनि बेला नदी पश्चिमतर्फ फर्किने खतरा बढेको प्रहरी निरीक्षक पन्तले जानकारी दिए।

चिसापानीस्थित जल तथा मौषम विज्ञान विभागको मापन केन्द्रका अनुसार कर्णाली नदीमा पछिल्लो सवा १ बजे गरिएको मापन अनुसार पानीको सतह १२ दशमलव ५ मिटर पुगेको छ। नदीमा पानीको सतह १० मिटर पुग्नुलाई वार्निङ लेभल र १० दशमलव ८० मिटर पुग्नुलाई खतराको तह पार गरेको मानिन्छ।

नदीमा पानीको सतह बढ्दै गएपछि तटीय क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिका तथा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्ने काम भैरहेको छ।

कैलालीतर्फ कर्णाली नदीको मुलपानी, दौलतपुरघाट, शाहीपुर, सत्तीघाट पुल लगायतका ठाउँमा नदीको सतह तटबन्ध माथि पुगेको छ। स्थानीयका अनुसार कुनै पनि बेला तटबन्ध भत्किने खतरा बढेको छ। ‘अहिले हाम्रो काम मान्छेलाई सुरक्षित स्थानतर्फ सार्ने मात्रै भैरहेको छ’, टीकापुर नगरपालिकाका मेयर तपेन्द्र रावलले भने, ‘तत्काल रोकथामभन्दा पनि मानवीय क्षति हुन नदिने तर्फ प्रयास गरिरहेका छौं।’

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाहरु तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न सहयोग गरिरहेका छन्। स्थानीय पालिकाहरुले सुरक्षित स्थानतर्फ सर्न सार्वजनिक सूचना जारी गरेका छन्।

Next Post

दैलेखमा पेट्रोलियम पदार्थ रहेको चिनियाँ टोलीद्वारा पुष्टी

२ कार्तिक २०७८, मंगलवार १४:४२
दुई वर्षअघि चिनियाँ कम्पनीले दैलेखमा गरेको अन्वेषणमा पेट्रोलियम पदार्थ रहेको पुष्टी गरेको छ। वर्षौदेखि दैलेखमा पेट्रोलियम पदार्थ रहेको अनुमान गरिएपनि यसको आधिकारिक पुष्टी हुन सकेको थिएन। २०७६ असोजबाट दैलेखको दुल्लु नगरपालिकालाई केन्द्रमा राखेर चिनियाँ अन्वेषण टोलीले अनुसन्धान गरेको थियो। कोभिड सुरु भएसँगै तीन महिनासम्म प्रारम्भीक अन्वेषणको काम सकेर चिनियाँ टोली […]