अपाङ्ता भएका व्यक्तिको सहजताका लागि विकल्प खोज्दै गुठिचौर

  ।   २३ मंसिर २०७८, बिहीबार २०:०९

गोल्डेन बुढा,

अहिले पनि समाजमा अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भन्ने भ्रम छ । उनीहरुलाई अपमान गर्ने देखि हेयका दृष्टिले हेरिने गरिन्छ । सरकारी सेवा सुविधा सहजै रुपमा उपलब्ध हुदैनन । आएको सेवा सुविधामा पनि ढिलासुस्ती गर्नाले निकै ठुलो समस्या भोगिरहनु परिरहेको छ । तर जुम्लाको गुठिचौर गाउँपालिकाले भने अपाङ्ता भएका व्यक्तिको सहजताको लागि विभिन्न विकल्प खोजिरहेको छ । उनीहरुलाई स्वरोजगार बनाउन सीपमुलक क्रियाकलापमा संलग्न गराउँदैछ ।
अहिले मोजा,स्वीटर,गलबन्दी,टोपील बुन्न सिकाउँदैछ । उनीहरु शारीरिक रुपमा अपाङ्ग भएपनि सपाङ्ग बराबरको काम गर्न सक्छन भन्ने सन्देश दिन गाउँपालिका लागि परेको अध्यक्ष हरीबहादुर भण्डारी बताउँछन । उनले भने,‘समाजमा सबैले समान हिसावले बस्न पाउनुपर्छ । जसका लागि सबै व्यवसायी बन्न जरुरी छ । ’
गाउँपालिका भित्रका ५३ जना अपाङ्ता भएका व्यक्तिलाई एकै थलोमा जम्मा गराएर सीपमुलक कार्यमा जोड्न सफल भएको अध्यक्ष भण्डारी बताउँछन । यो सीपमुलक कार्यमा सबै वडाका व्यक्ति सहभागि छन । ३६ जना पुरुष र १७ जना महिला सीपमुलक कार्यमा जोडिएका छन । वडापालिकाको सिफारीसका आधारमा सहभागि छनौट गरिएको थियो ।
नौमुले अपांङ्गता भएका व्याक्तिहरुको संजाल जुम्लाका अध्यक्ष प्रेमराज भण्डारीले स्थानीय सरकारले सीपमुलक कार्यमा जोडेर स्वरोजगारको प्रत्याभुति दिने खालको कार्यक्रम गरेकोमा खुसी व्यक्त गरे । उनले भने,‘ अहिले अपाङ्गता भएका व्यक्ति समाजका सबैभन्दा अपहेलित मानिएका छन । सबैले हेर्ने नजर समान छैन । यो अवस्थामा सीप सिकाएर जीवन जीउन सिकाउनु निकै राम्रो पक्ष हो । यो स्थानीय सरकारको स्वागतयोग्य कार्य हो । ’ समुदाय स्तरमा अपाङगता भएका व्यक्तिहरुलाई गर्ने व्यवहार र हेर्ने नजर निकै निच छ । उनले भने,‘अब समाजका सबैभन्दा अब्बल र पौरखी बन्ने हिम्मत प्राप्त भएको छ ।

यो सीप उनीहरुको जीवन जीउने एक आधार बन्ने पक्का छ । ’ गुठिचौर गाउँपालिका २ गोठ गाउँका मुनप्रसाद ऐडी सीप सिकेर आत्मनिर्भर बन्ने बताउँछन । उनले भने,‘स्वास्थ्यले साथ दिएको थिएन । त्यसैमा कुनै पनि सीप सिक्ने अवसर मिलेन । अब स्थानीय सरकारले सीपमुलक काममा अग्रसर हुने अवसर प्रदान गरेको छ । निकै खुसी छौँ । सीप सिकेर आफु पालिएर अरुलाई पाल्न सक्ने आँट सिर्जना भएको छ । ’ उनी गाउँमा रोजगारको कुनै अवसर नहुँदा खोडीमुलक गएपछि गाडीले किचेर अपाङ्ग जीवन बिताइरहेका छन । काम खोज्दै आधा परानी मरिसकेको छ । बाँकी रहेको परान पाल्न यो सीपले निकै राहत पुर्याउनेछ ।
गाउँपालिकाकाले दिएको सीपमुलक काममा इमान्दारीताका साथ लाग्ने जयलक्ष्मी भण्डारीले बताइन । उनले भनिन्,‘ इमान्दारीता र लगनशिल भएर सीप आर्जन गर्न सके यसैमा भविष्य छ । ’उनीहरुलाई गुठिचौर गाउँपालिका ५ की मंगला न्यौपानेले सीप सिकाइरहेकी छिन । मंगलाले भनिन्,‘सीप सिकेको खण्डमा भोकै मरिदैन । भोको हुने अवस्था नआए जेनतेन गुजारा चल्छ । यही नै उत्तम विकल्प हो । ’
गुठिचौर गाउँपालिकाको आर्थिक सहयोगमा नौमुडे अपाङगता भएका व्यक्तिहरुको सञ्जाल गुठिचौरले सीपमुलक कार्यक्रम आयोजना गरेको हो । अहिले दिनभर अपाङ्गता व्यक्तिहरु सीपमुलक कार्यमै खटिएका हुन्छन । गाउँपालिका अध्यक्ष भण्डारीले अपाङ्गता भएका व्यक्तिको सहज जीवनयापनका लागि गाउँपालिका चिन्तित रहेको बताए । उनले आगामी दिनमा सीपमुलक काम बाहेकका अन्य विकल्प भएपनि सहजीकरण गर्ने बताए ।

Next Post

गाउँका सिंहदरबारमा रहेका न्यायिक समिति प्रभावहिन

२३ मंसिर २०७८, बिहीबार २०:०९
गोल्डेन बुढा, न्याय निरुपणका लागि स्थानीयतहमा न्यायिक समितिको व्यवस्था भएपनि न्याय सम्पादन प्रभावकारी हुन सकेको छैन । जसका कारण अधिकांस सर्वसाधारण प्रहरी चौकीमै उजुरी दिनेगर्छन । जनप्रतिनिधि राजनीतिक पेरीफेरीबाट आएकोले न्याय नपाउने स्थानीय बताउँछन । प्रहरीले नै न्याय दिलाउँछ भन्ने मान्यता अहिले सम्म कायमै छ । जिल्लामा एक नगरपालिका सहित […]