आरन पेसा संकटमा,आरनकर्मीहरु चिन्तित

  ।   २८ पुष २०७८, बुधबार १७:२६

गोल्डेन बुढा,जुम्ला, पुस २८,
दशक अघि सम्म गुठिचौर गाउँपालिका ४ का माङ्ले कामीको जीविकोपार्जनको बलियो माध्यम थियो आरन पेसा । उनी आरन पेसाबाट सहजै रुपमा घरखर्च चलाउँथे । तर पछिल्लो समयमा आधुनिकता संगै भित्रिएको प्रविधिको कारण आरन पेसा संकटमा पर्ने गरेको उनी बताउँछन । अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्री बजारमा सस्तो मुल्यमा पाउन थालेका छन । जसले यहाँका आरन व्यवसायिको पेसा संकटमा पर्न थालेको छ । पहिले आरनलाई पुख्र्यौली पेसाको रुपमा अंगिकार गरिन्थ्यो । आरनमा फलामे सामाग्री बनाए बापत्त नगद जिन्सी समेत दिने चलन थियो । अहिले यो पेसा गुजारा चलाउने मात्र माध्यम बनेको छ ।
आरन पेसा छोडौँ त पुर्खाहरुको चिनो संकटमा पर्ने चिन्ता छ,माङ्लेले भने,‘नछोडौँ त गुजारा चलाउन कठिन छ । अहिले आरन व्यवसायिककर्मीहरु धर्म संकटमा परेका छौँ । ’ बदलिदो परिस्थिती अनुसार व्यवसायिक बन्न समेत गाह्रो देखिएको उनीहरु बताउँछन । जुम्लामा लुहार,विश्वकर्मा,कामी ओड जातिका मान्छले आरन चलाउँछन । उनीहरुले पुख्र्यौली पेसाका रुपमा अहिले सम्म ग्रहण गरिरहेका छन । यो हाम्रो पुख्र्यौली पेसा हो । सानै देखि बुवाबाट यो पेसा सिकेँ । मैले अहिले दिनमा मात्र नभइ रातमा पनि यो कार्य गरिरहेको छु । स्थानीय जगत कामीले भने,‘कमाइ हुदैन । घरखर्च पनि जेनतेन चल्छ । आयतित फलामे औजारले आरन संकटमा परेका हुन । ’ उनीहरुले हसियाँ,चक्कु,त्रिशूल,घण्टा,कुटो,कोदालो,बन्चरो,चिम्टी,हथौडा,करुवा,माना,पाथी बनाउँछन ।
घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन । पहिले घरमै बसेर एक महिनामा दस देखि पन्ध्र हजार रुपैयाँ सम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरु संग छ । अहिले आरन व्यवसाय गर्दा कमाइ अपेक्षाकृत हुन सक्दैन । दिनप्रतिदिन यो पेसा छोड्नेको संख्या बढेको छ । अहिले आरनमा बनाएका कोदालो बन्चरोले आकार हेरेर ६ सय देखि एक हजार रुपैयाँ सम्म मुल्य पाउँछन । हसियाँ एक सय पचास देखि ३ सय रुपैयाँ सम्ममा बेचिरहेको आरनकर्मीहरु बताउँछन ।
व्यवसायिक रुपमा आरन पेसा अगाल्न सके सहर नै पस्नु पर्छ भन्ने छैन । मेहनत र परिश्रम गरे फल जहाँ पनि पाइन्छ । उनीहरुले काम अनुसारको ज्याला नहुँदा धेरै व्यक्ति आरन थन्क्याएर बिदेश हिंडेको अनुभव सुनाए ।
काचो फलामलाई तताएर विभिन्न प्रकारकासामान बनाएर पनि गतिलो आम्दानी गर्न सकिन्छ ।२० बर्ष अघि देखि आरन पेसा गरिरहेका माङ्लेले भने,‘ काम गरे बाफत बर्षमा धान,पिठो,चामल र गँहु दिने चलन कायमै छ । हामीले बर्ष भरी भाडाकुडा बनाउछौँ तर पैसा पाउँदैनौँ । खाद्यन्न मात्र पाउने गरेका छौँे । जसले गर्दा निकै घाटा हुने गरेको छ । खानलाई त जेनतेन खाद्यन्न जम्मा हुन्छ तर एक सरो फेर्न पैसा अभाव झेलिरहनुपर्छ ।’
स्थानीय सरकारले आरन व्यवसायलाई प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नुपर्ने माग आरनकर्मीहरुको छ । अहिले बजारमा आएका औजार बनाउने गरि तालिमको प्रबन्ध हुनुपर्छ । सुलभ मुल्यमै किसानले आगनमै फलामे सामाग्री पाउँछन ।पछिल्लो पुस्ताले आरन व्यवसायलाई रुचाउँदैन ।गाउँघरमा कोइला अभाव हुन थालेको छ । जसले गर्दा आरन व्यवसाय नै धरापमा छ ।
जिल्लाको एक नगरपालिका सहित ७ वटै गाउँपालिकामा आरनकर्मीहरु छन । उनीहरु पुख्र्यौली पेसा जोगाउने भन्दै सानातिना काम मात्र गर्छन ।तर स्थानीयतहले आरनलाई व्यवसायकै रुपमा अघि बढाउनको लागि लगानी गरेको खण्डमा आरन पेसा प्रमुख आम्दानीको स्रोत बन्ने निश्चित रहेको जानकारहरु बताउँछन ।

Next Post

संकटमा कर्णालीका पर्यटन गन्तव्य

२८ पुष २०७८, बुधबार १७:२६
गोल्डेन बुढा, जुम्ला,पुस २८। कोरोना महामारीका कारण कर्णालीको पर्यटन क्षेत्र खस्कदै गएको छ । पछिल्लो समयमा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक आवागमन निकै कम छ । सुर्खेत कालिकोट हुदैँ नाग्म गमगडी सडकबाट आवतजावत गर्ने पर्यटक संख्या निकै घटेको हो । पहिले एकैदिनमा ५० देखि एकसय सम्म पर्यटक गाडी आवतजावत गरिरहेका […]