हिउँमा फसेका जुम्लाबासीको उद्धार गर्न हेलिकप्टर पठाउदै कर्णाली सरकार

  ।   २३ माघ २०७८, आईतवार ११:२८

जुम्ला,माघ २३।
कर्णाली प्रदेश सरकारले जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा हिउँमा फसेकाहरुलाई उद्धार गर्न हेलिकप्टर पठाउन थालेको छ । विहिवार देखि परेको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी ८ का ५५ जना स्थानीय सम्पर्कविहिन छन । उनीहरु संग फोन सम्पर्क हुन सकेको छैन । स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्री र ऐडी ओढारमा बसेका छन । उनीहरु सहजै रुपमा हिउँ छिचोलेर घर फर्कने अवस्था छैन ।
स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा फसेका जुम्ली नागरिकको उद्धारको लागि कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले हिउँमा फसेका सबैको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको बताए । उनका अनुसार हेलिकप्टरमा तत्कालका लागि आवश्यक खाद्यन्न समेत पठाउन थालिएको छ ।
अहिले नेपाली सेनाको ठुलो हेलिकप्टर छैन । सानो हेलिकप्टर पठाउन लागिएको उनले बताए । मुख्यमन्त्री शाहीले भने,‘त्यो क्षेत्रमा हिउँ पाँच फिट सम्म परेको भन्ने सुचना प्राप्त भएको छ । हेलि अवतरण गर्न सकिने अवस्था हुन सक्छ । भोकबाट बच्न तत्काल उनीहरुलाई खाद्यन्न खसाल्ने गरी हेलिकप्टर पठाउन थालिएको छ । ’
हेलिकप्टर सिंधै हिउँमा फसेका नागरिक बसेको क्षेत्रतिर जानेछ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयका निमित्त सचिव निधिराज न्यौपाने एक जना स्थानीय सहित आवश्यक खानेकुरा सहित हेलि उड्न थालेको बताउँछन । तातोपानी ८ का सुरतबहादुर शाही चिउरा,दालमोठ,चाउचाउ जस्ता खानेकुरा लिएर हेलिकप्टरमा आउन लागेका हुन ।
पाटन क्षेत्र तातोपानी ८ टोप्ला गाउँ देखि एकदिनको पैदल दुरीमा पर्छ । जडिबुटी संकलन गर्न गएका स्थानीय पाटनको गाग्री,एडि,खोटी सल्ला र ध्वनी ओढारमा फसेको स्थानीय बताउँछन । उनीहरु सेतक चिनी कोर्न पाटन गएका थिए । चिसोले कठ्यांग्रिएर स्थानीय जैकुरा शाही र तातोपानी ७ बारागाउँका मुनबहादुर रावतको मृत्यु भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिहरुको उद्धार कार्य शुरु भएको बताईन । तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले हिउँमा फसेका मानिसका लागि तत्काल खाद्यान्न र चिसोबाट बचाउने साम्रगी जुगाड गरिएको तर हेलिकोप्टर विना खाद्य साग्रागी त्यहाँ पुर्याउन असंभव भएको बताए । उनले भने,‘सबै मिलेर उनीहरुलाई बचाउनु प्रमुख काम हो । सबैले राहत तथा उद्धार कार्यमा जुट्नु पर्ने देखिन्छ । स्थानीय सरकार तयारी अवस्थामा रहेको छ । ’

मुख्यमन्त्री शाहीका अनुसार हेलिकोप्टर जुम्ला खलंगा अवतरण गर्ने छैन । जाजरकोट र जुम्लाको सिमामा रहेको ग्राग्री पाटनमा जुनीचाँदे गाउपालिका भएर सिधै पठाउने तयारी भइरहेको छ । उनले हिउँमा फसेका सबैको उद्धार तथा राहतका लागि कर्णाली सरकार तयारी अवस्थामा रहेको बताए । गाउँका ५५ जना हिउँमा फसेपछि टोप्ला गाउँ चिन्तामा छ ।

Next Post

खाद्यन्न छोडेर फर्कियो सेनाको हेलिकप्टर

२३ माघ २०७८, आईतवार ११:२८
बिहिवार देखि परेको भारी हिमपातका कारण सम्पर्कविहिन भएका जुम्ला तातोपानी ८ का स्थानीय सकुशल भेटिएका छन । उनीहरु पाटनमा सुरक्षित रुपमा बसेको अवस्थामा भेटिएका हुन । सेतक चिनी नामक जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका झण्डै ५५ जना हिउँमा फसेको भन्दै स्थानीयले तत्काल उद्धार गर्न माग गरेका थिए । पाटनमा […]