विधेयक पारित गर्न दबाब दिँदै सडकमा उत्रिएका सांसद भण्डारी भन्छन्– सदन र सडकमा एक साथ संघर्ष गर्छु

  ।   २ श्रावण २०७९, सोमबार १८:०६

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक तथा कानुन मन्त्री नरेश भण्डारीले सडकमै उत्रिएर विरोध प्रदर्शन गरे । सरकारले विभिन्न विधेयक पारित गर्न आलटाल गरेको भन्दै उनी विरोध प्रदर्शनमा उत्रिएका थिए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भण्डारीले संसदमा टेबल गरिएको विधेयक पारित गर्न सरकार अनिच्छुक देखिएको आरोप लगाएका छन् । संसदमा पटक–पटक आवाज उठाउँदा पनि सरकार सकारात्मक नदेखिएपछि बाध्य भएर आफू विद्रोहमा उत्रिएको उनी बताउँछन् ।

गत शुक्रबार प्रदेशसभा अगाडि दबाबमुलक कार्यक्रम गरेका उनले त्यसपछि नियमित दबाबमुलक गतिविधि गरिरहेका छन् । ‘पर्वतीय विश्वविद्यालय विधेयक खोस्न खोजेको, सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई तुहाउन खोजिएको र कर्णाली नव–प्रवर्तन, अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयकलाई बन्धक बनाउन खोजिएको भण्डारीको आरोप छ ।

दुई वटा विधेयक संसदमा टेबल भएर पनि संशोधन दर्ज भइसकेपछि बाँकी प्रक्रिया अगाडि बढाउनका लागि समितिमा गएका छन् । समितिमा विधेयकलाई बन्धक बनाउने काम भइरहेको उनको आरोप छ । पर्वतीय विश्वविद्यालय सम्बन्धी विधेयक सरकार आफैले ल्याएर झण्डै ८० प्रतिशत काम सकिसकेको अवस्थामा फिर्ता लिने गरी सामाजिक विकास मन्त्रीले औपचारिक प्रस्ताव समितिमा राखेका छन् ।

यसै सन्दर्भमा रहेर रातोपाटीले माओवादी केन्द्रका सांसद भण्डारीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश 

विधेयक पारित गर्न दबाब दिन तपाई सडकमै उत्रिनुभयो, यसको औचित्य के थियो ?

कर्णालीको समृद्धिका आधारस्तम्भ हुन सक्ने पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, सिञ्जा संरक्षण तथा विकास विधेयक र नव प्रवर्तन अन्वेषण तथा आविस्कार विधेयक पारित गराउन जनताको बल आवश्यक महसुस भयो । तसर्थ उल्लेखित विधेयकहरु पारित गराउन संसद र सडकको ताकतको संयोजन जरुरी भएकाले सडकमा उत्रिनु परेको हो ।

सांसदहरुले यसरी सडकमा उत्रिएर प्रदर्शन गर्नु उचित हो र ?

पटक–पटक पहल गर्दासमेत सदनबाट विधेयक पारित हुन नसकेपछि बाध्यात्मक विकल्पका रुपमा सडक संघर्षमा उत्रिनु परेको हो । जनताले निर्वाचित गर्दा मलाई भनेका छन्– तिमी हाम्रा सपनाका लागि संसदमा संघर्ष गर । हाम्रा सपनाहरु तुहिने अवस्था आएमा हामीलाई अपिल गर ।

मलाई मतदाताले यसैका लागि चुनेका हुन् । शक्तिका श्रोत जनताको म्याण्डेटलाई शिरोपर गरेर सडकको सहारा लिएको हुँ । हरेक जननिर्देशनहरु उचित हुन्छन् ।

आफ्नै दल सरकारमा सहभागी भएको अवस्थामा विधेयक पारितका लागि सडकमा उत्रिनुभन्दा दलभित्रै कुरा उठाउनु ठिक हुन्थ्यो होला नि, होइन र ?

दलभित्र पटक–पटक कुरा उठाएको छु । दलले उल्लेखित विधेयकहरुलाई अगाडि बढाउने निर्णयसमेत गरेको छ । मुख्यमन्त्री एवं सामाजिक विकास मन्त्रीलाई विधेयक अघि बढाउन पटक–पटक अपिल गरेको छु । सरकारले आफ्नोपन देखाएन ।

संसदमा ०७७ सालमा सरकारले दर्ता गरेको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक र मैले संसदमा दर्ता गरेको सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयकलाई पारित गर्न पटक–पटक सरकारलाई अनुरोध गरेँ । मैले दर्ता गरेको अर्को अन्वेषण तथा आविस्कार विधेयक टेबुल गरिदिन सभामुखलाई पनि पटक–पटक अनुरोध गरेँ ।

यो पनि विधेयक पारित गर्न दबाब दिँदै कर्णालीका सांसद नरेश भण्डारी सडकमा उत्रिए
​विश्वविद्यालय र सिञ्जा सभ्यता विधेयकहरुलाई संसदको बहुमतले सैद्धान्तिक स्वीकृति दिइसक्दा पनि ६ महिनादेखि समितिमा थन्किएका छन् । दलले उल्लेखित विधेयकहरुलाई अगाडि बढाउने निर्णयसमेत गरेको छ । अब संसदको कार्यकाल करिब ४ महिना बाँकी रहँदा जनतामा अपिल गर्नु बाध्यात्मक विकल्प बन्यो, रहर होइन ।

सस्तो लोकप्रियताका लागि तपाई सडकमा जानु भयो भन्नेहरुलाई कसरी जवाफ दिनु हुन्छ ?

केही मानिसले मेरो कदमलाई सस्तो लोकप्रियता पनि भनिरहेका छन् । मलाई हतोत्साहित बनाएर उनीहरु कर्णालीको सपनाको बन्ध्याकरण गर्न चाहन्छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान विधेयक दर्ता गर्दा होस् वा १२ हजार धारायुक्त हिमाली क्षेत्रको सबै भन्दा ठुलो धौलीगाड खानेपानी आयोजनाको पहल गर्दा होस् । सस्तो लोकप्रियताको संज्ञा दिनेको कमी थिएन । यस्ता प्रतिक्रियाहरुले खासै अर्थ राख्दैनन् । म कर्ममा विश्वास गर्छु ।

तपाईले मुख्यमन्त्रीको राजीनामा समेत माग गर्नु भयो । आफैले समर्थन गरेका मुख्यमन्त्रीको राजीनामा माग गनुपर्ने परिस्थिति कसरी आयो रु भन्ने बेला अघिल्लो सरकारकै निरन्तरता भनिएको हो तर के मुख्यमन्त्रीले एकलौटी गर्न खोजिरहनुभएको हो ?

मुख्यमन्त्रीको राजीनामा मागिएको छैन । प्रहरीसँगको झडपका क्रममा प्रतिक्रियास्वरुप सहभागीहरुबाट राजीनामाको नारा लागेको हो । गठबन्धनको स्प्रिट, मूल्य, मान्यता र संस्कृति विपरीत मुख्यमन्त्री अगाडि बढिरहेको अनुभूति हामीलाई भएको छ । कुनै पनि सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो ।

अझ, यो गठबन्धनको सरकार भएकाले पूर्व सरकारले अगाडि बढाएका मुख्य कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने हो । तर, त्यसो भइरहेको छैन । प्रदेश गौरवको आयोजना पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयकलाई संसदबाट फिर्ताको प्रस्ताव गर्नु, केवलकारको योजना अगाडि नबढाउनु र सहिद स्मृति भत्ता, घाइते अपाङ्गता जीवन निर्वाह भत्ताको सम्पूर्ण रकम फ्रिज गरिनुले व्यवहारमा यो सरकार निरन्तरताको सरकार हो भन्नेमा आशंका गर्ने अवस्था छ ।

कुनै पनि हालतमा विधेयक पारित हुनसक्ने स्थिति आएन भने के हुन्छ ?

गठबन्धनमा छलफल हुन्छ । हाम्रो संसदीय दलको बैठक पनि यही ४ गते बस्दैछ । त्यो बैठकमा हामी मूर्त धारणा बनाउँछौं । सरकार गम्भीर र जिम्मेवार नभएमा, विधेयक पारित हुने अवस्था नआएमा सदन र सडकमा एक साथ संघर्ष अगाडि बढ्छ । त्यसको जिम्मेवार सरकार हुनेछ ।

दबाब स्वरुपका अन्य कार्यक्रम पनि गर्नुहुन्छ ?

३१ गते संसद भवनमा र सिञ्जामा सांकेतिक विरोधका कार्यक्रमहरु सम्पन्न भएका छन् । सरकार गम्भीर र समवेदनशील नबनेमा निःसन्देह थप संघर्षमा कार्यक्रमहरु अगाडि बढ्छन् ।

सरकारका काम काजलाई तपाईले कसरी हेर्नुभएको छ ?

सरकारमा समृद्धिको हुटहुटी हुनु पर्ने हो । त्यो महसुस भएको छैन । कर्णालीजस्तो विपन्न प्रदेशको सरकार प्रदेशको विकास र समृद्धिको प्यासले छट्पटाउनु पर्ने हो । सरकार यथास्थितिबादी ढंगले अगाडि बढिरहेको छ, जुन अपेक्षा कर्णालीवासीको गरेका थिएनन् ।

प्रदेशसभाको कार्यकालको अन्तिम समयतिर आइपुग्दा यो अवधिसम्म आफूले निर्वाह गरेको भूमिका कस्तो रह्यो ? जनतासामु गरेका बाचा पूरा गर्नुभयो ?

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारीमा रहँदा कानुन निर्माण र विपद् व्यवस्थापन कार्यमा क्रियाशील भएँ । कानुन मन्त्री हुँदा किन विधेयक ल्याउनु भएन भन्ने प्रश्न पनि तेर्स्याइएका छन् । कर्णाली प्रदेशसभामा हालसम्म दर्ता, विचाराधीन र पारित भएका विधेयकमा एक बाहेक सबै नयाँ विधेयकहरु हामीले सहमति दिएका वा उत्पति गरेकामात्र छन् । प्रहरी समायोजन नहुँदा प्रदेशमा शान्ति सुरक्षाको संवैधानिक दायित्व पूरा गर्न सकिएन ।

प्रदेश सभा सदस्यको रुपमा संसदमा सिञ्जा सभ्यता र आविस्कार विधेयक दर्ता गराएँ । सिञ्जा सभ्यता विधेयक नेपालकै संघीयताको इतिहासमा प्रदेशसभामा दर्ता भएको पहिलो गैरसरकारी विधेयक हो । सांसदहरुको प्रमुख दायित्व कानुन र नीति निर्माण गर्ने हो । यसमा काम गर्ने अवसर पाएँ । जनताका विकास निर्माण कार्यका लागि प्रयत्नशील रहेँ ।

कर्णाली जस्तो गरिबीको पहाडले च्यापिएको प्रदेशका नागरिकहरुका लागि जति गर्नु पर्ने हो त्यति गर्न सकिएन । संविधान प्रदत्त प्रदेशका अधिकारलाई समेत आफ्नै पञ्जामा राख्न चाहने संघीय सरकारको एकात्मक सोच तथा प्रदेशभित्र पनि खुट्टा तान्ने प्रवृति देखियो । यसका बाबजुद जनताको पक्षमा काम गर्ने इमानदार प्रयास गरेँ र गरिरहनेछु ।

खासमा कर्णाली समृद्धिका गफ नेताहरुले निकै दिने गरेका छन् तर प्रदेशको अवस्थामा सुधार आउन सकेको छैन । कर्णालीवासीले कहिले सुखारी कर्णालीवासीको अनुभूति गर्न पाउँछन् ?

जहाजलाई निर्दिष्ट गन्तव्यमा अवतरण गर्न क्याप्टेनको सक्षमता र जहाजको अवस्था महत्त्वपूर्ण हुन्छ । अब्बल नेतृत्व, दुरगामी सोच, असाधारण संकल्प र सोचको सामूहिक कार्यान्वयनले कर्णालीका प्रचुर सम्भावनाहरुलाई समृद्धिमा परिणत गर्न सकिन्छ । तत्पश्चात सुखारी कर्णालीवासीको अनुभूति गर्ने परिस्थिति सिर्जना हुनेछ ।

Next Post

जुम्लाको पातारासी गाउँपालिका तालाबन्दी:कामकाज ठप्प

२ श्रावण २०७९, सोमबार १८:०६
जुम्लाको पातारासी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गरेको तालाबन्दीका कारण कामकाज ठप्प भएको छ । गत असार महिनाको ८ गते पालिकालाई २२ बुँदे माग राख्दै आए पनि कार्यन्वयनमा तदारुकता नदेखाएको भन्दै माओवादी केन्द्र गाउँ कमिटीले ताला लगाएको हो ।माओवादी केन्द्र पातारासीका गाउँपालिका अध्यक्ष भक्तबहादुर बुढाले स्थानीय सरकार मनपरी रूपमा चलेकोले ताला […]