चालकको लापर्बाहीले दुर्घटना बढ्दो

  ।   २५ माघ २०७७, आईतवार ०८:४५

कर्णाली राजमार्गमा सञ्चालित सवारीसाधनका चालकले मदिरा सेवन गरेर गाडी चलाउने गरेको पाइएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा नेतृत्वको सुरक्षाकर्मीको टोली सडकमै बसेर चेकजाँच गर्दा मदिरा सेवन गरेर सवारी चलाउने गरेको भेटिएको हो।

पहिलो चेकिङमा मादकपदार्थ सेवन गरेर सवारी चलाइरहेको अवस्थामा एक मोटरसाइकल भेटियो। आधा घण्टासम्म चेकजाँच गर्दा सबै सवारीसाधनका चालकले मादक पदार्थ सेवन गरेर गाडी चलाइरहेका थिए। ‘चालक मदिरामा मस्त थिए। यात्रु त्रासपूर्ण अवस्थामा थिए। प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘अब ट्राफिक चेकजाँच कडा गर्न जरुरी छ। कडा रूपमा सवारी चेक गर्न निर्देशन पनि गरिएको छ।’

कर्णाली राजमार्गको जुम्ला खण्डमा सञ्चालन हुने ठूला तथा साना सवारीका अधिकांश चालकले रातको समयमा मादक पदार्थ सेवन गरेर गाडी हाँक्ने गरेको भेटिएको हो। अनुगमनका क्रममा मापसे गरी सवारी चलाइरहेका पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नवीन थापा मगरले बताए। मापसे गरी जिप, अटो तथा मोटरसाइल चलाइरहेका चार जना र एक जना मापसे गरेका यात्रुलाई नियन्त्रणमा लिएको उनी बताउँछन्।

प्रशासनमा प्रतिव्यक्ति एक हजार रूपैयाँ र ट्राफिकमा मापसे गरी सवारी चलाएबापतको जरिवाना बुझाएर उनीहरूलाई छोडिएको छ। बालुवा बोकेर ल्याइरहेको अवस्थामा मापसे गरेका एकजना ट्याक्टरचालक भागेको प्रहरी कार्यालयले जनाएको छ। साइट नछोड्ने, ट्राफिक नियमविपरीत ओभरटेक गर्ने, कागजातबिनै मापसेको तालमा दु्रतगतिमा सवारी चलाउने चालककै कारण कर्णालीमा दुर्घटना बढेको ट्राफिक प्रहरी बताउँछ।

मदिरा सेवन र सडकमै मनपरि रूपमा निर्माण सामग्री राख्दा सडक साँघुरिएर जोखिम बढेको जुम्लाका प्रमुख डिएसपी माधवप्रसाद काफ्ले बताउँछन्। रातको समयमा ट्राफिक जाँच नहुने र चालकले लापर्बाही गरेकै कारण दुर्घटनाको जोखिम बढेको प्रजिअ थापा बताउँछन्। उनले भने, ‘मापसे गरी सवारी चलाउने चालककै कारण धेरै ठूला दुर्घटना भएका छन्। अब नियमित चेकजाँचलाई कडा गर्नुको विकल्प छैन।

कर्णाली राजमार्गमा चालकको लापर्बाही र निर्माण सामग्री मनपरि रूपमा राख्दा दुर्घटना बढेको छ। चेकजाँचमा कडाइ र सडक अतिक्रमण गर्नेहरूलाई पनि नियमन गर्ने तयारीमा रहेको प्रजिअ थापा बताउँछन्।

आघा घण्टामा पाँचवटा सवारीसाधन चेकजाँच गर्दा सबै सवारीचालकले मदिरा सेवन गरी चलाएको भेटिएको थियो। उनले भने, ‘आधा घण्टाको अन्तरालमा चेकजाँच गर्दा पाँचैजनाले मादकपदार्थ सेवन गरेको पाइयो। यो कार्यले राति चल्ने सवारीसाधन मदिरा सेवन गरेर मात्र चलाउने गरेकोमा शंका उत्पन्न भयो।’

मादकपदार्थ सेवन गरेर ओभर स्पिडमा गाडी कुदाउँछन्। तर जुम्लामा मापसे जाँच गर्ने उपकरण छैन। ट्राफिक कार्यालयका हवल्दार कुशराज शाही मापसे गर्ने (ब्रेथ लाइजर) उपकरण नभएको बताउँछन्। ‘चालकको लापर्बाही बढेपछि अहिले तीनवटा उपकरण माग गरिएको छ,’ हवल्दार शाही भन्छन्, ‘अहिलेका लागि उपकरण नहुँदा चेकजाँच प्रभावित भएको छ। उपकरणबिना हचुवाको भरमा जाँच हुँदैन।’

जिल्ला ट्राफिक कार्यालय जुम्लाको तथ्यांकअनुसार चालु आवमा हालसम्म १४ वटा सवारी दुर्घटना भएका छन्। चालककै लापर्बाहीका कारण बढी सवारी दुर्घटना भएको हवल्दार शाही बताउँछन्। १४ वटा दुर्घटनामा परी २७ जना घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ। यी सबै दुर्घटनाको कारण चालक नै हुन्।

मापसे गर्ने, तीव्र गतिमा सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु हाल्ने चालकलाई नियन्त्रणमा लिएर नियमित चेकजाँचमा कडाइ गरिएको छ। चालु आवको माघ दोस्रो सातासम्म कारबाही गरिएका ८ सय ३१ वटा सवारीबाट ८ लाख ३५ हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ। नागरिक दैनिक

Next Post

हिरासतबाट फरार थुनुवा पक्राउ

२५ माघ २०७७, आईतवार ०८:४५
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासतबाट शनिबार राति फरार रहेका तीन जना थुनुवा पक्राउ परेका छन् । राति २ बजेतिर हिरासतबाट भागेका तीन जनालाई आइतबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी माधव काफ्लेले जानकारी दिए । उनका अनुसार सवारी ज्यान मुद्दाका थुनुवा नितेश शाही, कर्तव्य ज्यान मुद्दाका थुनुवा यज्ञ […]