मालिकको स्वार्थमा खुम्चिदो रेडियो पत्रकारिता

  ।   १ जेष्ठ २०७८, शनिबार २३:२५

गोल्डेन बुढा,


कामका लागि कालापहाड पुगेका गाउँलेले काँधमा रेडियो बोकेर ल्याउँदा अचम्म लाग्थ्यो । काँधमा झुण्डिएको रेडियो बोल्थ्यो । लाग्थ्यो रेडियो कसरी बोल्छ ? न रेडियोमा मान्छे अटाउन सक्छ । नत रेडियो भित्र बसेर बोल्न सकिन्छ । कसरी बज्छ रेडियो भन्ने विषयमा निकै कौतुहलता हुन्थ्यो । रेडियोमा समाचार आउथ्योँ । गीत बज्थ्यो । सन्देशमुलक सुचना सुनिरहन मन लाग्छ । रेडियोका बिषयमै कौतुहलता हुदाहुदै रेडियोमै काम गर्ने अवसर मिल्यो । सामुदायिक रेडियो कर्णाली एफएम जुम्लामा ।
रेडियोको शुरुवात कहाँबाट भयो ? कहिले र कसरी भयो ? रेडियो दिवश मनाउन सुरु कसरी गरियो ? रेडियो दिबसमा के–के गरिन्छ ? कसरी मनाइन्छ ? भन्ने बिषयमा प्रवेश गर्न चाहदैन् । मलाई यत्ति थाहा छ रेडियो आम मान्छेको सजिलो सञ्चारको साधन हो । रेडियो बजाउन कुनै बिशेष ज्ञान,सीप र कला चाहिँदैन रेडियो बजाउन कसले जान्ने र कसले नजान्ने भन्ने पनि हुँदैन । सामान्य मान्छेले पनि रेडियो सजिलै बजाउन सक्छ । सुनेर मनोरञ्जन लिनसक्छ ।
हलक्क बढ्दै गरेको ६÷७ बर्षको बच्चादेखी ७०÷८० बर्षको पाकापुस्ताको समेत रेडियोमा पहुँच छ । टेलिभिजनको दुरदराजका क्षेत्रमा पहुँच छैन । इन्टरनेट सुविधा ग्रामिण क्षेत्रमा छैन । पत्रपत्रिका सहर केन्द्रीत छन । दुर्गम क्षेत्रको लोकप्रिय सञ्चार माध्यम हो रेडियो ।
मैले पनि रेडियोमा काम गर्दा छोटो समयमा प्राप्त गरेको अनुभव र भोगाई दर्शाउदैँछु । सानैदेखि मिडियाप्रेमी म । रेडियोमा प्रस्तोताले बोलिरहँदा, समाचार बाचकले समाचार पढिरहँदा, संगितकर्मीले गीत गाइरहँदा निकै आनन्द लाग्थ्यो । मनमनै सोच्ने गर्थे । एकदिन त्यो समाचार आफै बाचन गरेर सुनाउने, गीत गाएर मनोरञ्जन दिने, प्रस्तोता बनेर सुचना सन्देश प्रवाह गर्ने ठाउँमा पुग्ने अवसर पाए ।
मानिसका आ–आफ्नै रुचि र चाहना हुन्छन् । मेरो सानै देखि एउटा अशल रेडियोकर्मी बन्ने चाहना थियो । म त्यही रेडियोकर्मी बन्ने अवसरको खोजीमा थिए । रेडियो पत्रकार बन्ने तीब्र चाहना थियो केवल मनभित्र मात्रै । केही समय आफ्नो रेडियोकर्मी बन्ने चाहना पूरा गर्ने यात्रामा निरन्तर दौडिरहे ।
आज भन्दा करीब ६ वर्ष अगाडिको कुरा हो । २०७१ असार १६ गतेको दिन थियो । पहिलो पटक कर्णालीकै पहिलो सामुदायिक रेडियो कर्णालीमा बोल्ने अवसर मिल्यो । न कुनै औपचारिक तालिम लिएको थिए । नत रेडियोमा कुनै अनुभव नै थियो । आफ्नै प्रयासले रेडियोबाट मैले बोले । पहिलो पटक माइक्रोफोन र बन्द स्टुडियोमा रहेर एक्लै बोल्दा डर लागिरहेको हुन्थ्यो । मलाई काम गर्नको लागि रेडियोले नियुक्ति दिइएको थिएन । केवल रेडियोमा बोल्न अनुमति मात्र । त्यही पनि गर्वले छाति फुल्थ्यो ।
। मनमा धेरै सपना बोकेर रेडियोकर्मीको भुमिकामा निरन्तरता दिँदै गएँ । स्रोताबीच स्थापित हुन हौसला पनि बढ्यो । अवसर संगै चुनौति पनि थियो । म एउटा रेडियो पत्रकार बन्ने सोचमा हिँडेको व्यक्ति पत्रकारीता आफैमा एउटा चुनौतीपूर्ण भएको आभाष गर्न पाए ।
रेडियोमा काम गरिसकेपछि एकातिर सामाजिक बन्धन जस्तै थियो । अर्कोतिर श्रमको उचित मुल्यांकन थिएन । मिडिया भित्र पुरुष पत्रकार भन्दा महिलालाई हेर्ने दृष्टिकोण फरक हुन्थ्यो । गर्ने व्यवहार पनि फरक नै । बाहिर हेर्दा रेडियो पत्रकारिता निकै अशल काम हो जस्तै लागिरहन्थ्यो । भित्र त्यो भन्दा नितान्त फरक ।
रेडियो गाउँबस्ती,समाज, कुनाकन्दराका आवाज विहिनको आवाज हो । गाउँबस्तीको आवाज बोल्ने एक समाजको प्रतिनिधि हो । तर पछिल्लो समयमा व्यापारिकरण हुदै जादा मुनाफा कमाउने साधन जस्तै लाग्छ ।
शोषित पीडित,निमुखा र उत्पीडनमा परेका सबै खाले उत्पीडित आवाजलाई आम नागरिक माझ जस्ताको तस्तै पुर्याउने सञ्चार माध्यम हो, रेडियो । मैले रेडियोमा केही समय काम गर्दा रेडियो पैसा कमाउने साधनका रुपमा मात्र प्रयोग भइरहेको त छैन् ? प्रश्न उब्जिएको छ ।
रेडियोमा निकै कम पारिश्रमिक लिने सञ्चारकर्मीको समस्या र स्रोताको चाहनासँग कुनै सरोकोर राखेको पाइदैन । घरमा नहुँदा कसैसँग मागेरै भएपनि घरको समस्या समाधान गरेर रेडियोको सेवामा हाजिर भइरहनु पर्ने बाध्यता छ । स्रोताले रेडियो सञ्चालक,पार्टी वा नेतालाई मन नपराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने बाध्यता जस्तै हुने गर्छ ।
पहिले रेडियो आवाजविहिनको आवाज बन्न खोलिएको आभाष हुन्थ्यो । अहिले झट्ट हेर्दा रेडियो दुई प्रयोजनको लागि खोलिएको जस्तो अनुभव हुन्छ । ‘पहिलो राजनीतिक पार्टीले आफ्नो विचारलाई जनतामाझ लैजान,दोस्रो नितान्त पैसा कमाउन, मालिक धनि बनाउन र रेडियोमा काम गर्ने कर्मचारी सधैँ गरिवको सुचिमा रहिरहन ।’
रेडियो पार्टीको प्रचार गर्ने साधन हुदा बास्तविक पीडितको आवाज मुखरित हुन सकेको छैन । कुनै राजनीतिक पार्टी वा नेताको प्रत्यक्ष लगानीमा रेडियो खुल्ने गरेका छन् । केही एफएम रेडियो घुमाउरो पारामा लगानी गरेर पार्टीको मुखपत्र नै बन्ने गरिएको पाइन्छ । यसमा पनि प्रतिस्पर्धा नै चलेको छ ।
रेडियोको काम भनेको पार्टी वा उक्त पार्टीका नेताहरुले गरेको नराम्रा कामलाई लुकाउने र गुलिया सपना जनतालाई बाड्ने र कमाउ धन्दामा प्रयोग गरिएको छ । अहिले मालिकको व्यवसायमा कुनै अवरोध हुँन नदिने रेडियोको पहिलो काम हुन्छ । मालिकको कमाउ धन्दाको बचाउँ गर्नु उसकोे कर्तव्य हुन जान्छ ।
मालिकको सेवा पहिलो सर्त त्यसपछि मात्र रेडियोकर्मी र स्रोताको । भोकभोकै मालिकको पक्षमा स्वर सुकाएर बोल्नु कर्मचारीहरुको दैनिकी बनेको हुन्छ । रेडियोकर्मीको समस्या र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन ।
यो मेरो छोटो समयको अनुभव हो । रेडियो बास्तविक गरिब,दुखि र दिनहिनहरुको आवाज हुन सकेको छैन । रेडियोले प्राप्त गरेको लोकप्रियता समाप्त हुने दिशामा अघि बढेको छ । रेडियो पत्रकारिता गर्ने मेरो व्यक्तिगत सपना वा चाहना त पूरा भएको छ । तर पत्रकारहरुले घाम–पानी र भोक–तिर्खा नभनि दिन रात रेडियोको लागि गरेको परिश्रम र मेहनतको मूल्य खोज्दै भौतारिनु परिरहेको छ । जब सम्म रेडियोकर्मीको सम्मान र समान पारिश्रमिक व्यवस्था हुदैन् तब सम्म रेडियोकर्मीको सम्मान हुन सक्दैन ।
रेडियोमा काम गर्ने अवसर प्रदान गरिएकोमा रेडियो कर्णाली प्रति सदैव सम्मान रहनेछ । काम गर्दा कमि–कमजोरी भए होलान । स्तरउन्नतीको लागि बल वृद्धि र विवेक लगाएको थिए । जसरी एक पत्रकार समाज विकासको क्षेत्रमा अहोरात्र खटिएको हुन्छ । त्यसरी हौसला, उत्प्रेरणा र सम्मान हुदैन । रेडियोमा काम गर्दा गर्व लाग्नु पर्ने अवस्था हो । तर निराशाको भोरी बोकेर गाउँ फर्कनु पर्ने बाध्यता आइपर्छ ।
आफुसँग भएको कला र क्षमता प्रदर्शन गर्ने एक माध्यम रेडियो हो । रेडियो स्टेसनबाट आशा गरेजति काम हुन सक्दैनन । गाउँगाउँमा सञ्चारकर्मी उत्पादन गर्ने र रेडियोमा ग्रामीण भेगका मानिसलाई समेट्ने काम भने भएका छन । तर उनीहरूको समस्या जसरी र जति मात्रामा संवोधन हुनु पर्ने हो त्यो हुन सकेको छैन ।
रेडियोले खानीमा उभिएर पनि हीरा हातमा उठाउन नसकिरहेको अनुभव मेरो छ । रेडियो पत्रकारको बोली भाषा र लेखाई–बोलाइ र हरेक प्रस्तुतिमा समेत निखारता आउनु जरुरी छ । रेडियोले एक कुशल रेडियोकर्मीको् जन्म दिन लाग्नु पर्छ । एक रेडियोकर्मीले रेडियोलाई आवाजविहिनको आवाज बनाउन सक्नुपर्दछ । अनि मात्र रेडियोको प्रभावकारी प्रयोग भएको मानिनेछ ।
अन्तमा मलाई रेडियो पत्रकारितामा प्रवेश गराउने आदरणीय दाजु तथा रेडियो कर्णाली एफएम जुम्लाका स्टेसन म्यानेजर गोर्खवहादुर थापालाई हृदयदेखी नै धन्यवाद दिन चाहन्छु । उहाँको सहयोगले बाल्यकालदेखिको रेडियोकर्मी बन्ने सपना पुरा गर्न मद्दत पुग्यो । म अहिलेसम्म रेडियो पत्रकारिताबाट विचलित भएको छैन । एक अशल रेडियो कर्मी बन्नको लागी रेडियो पत्रकारिताको यात्रा जारी नै राखेको छु ।

Next Post

सेनाका जर्नेल,किसानका प्रेरणा

१ जेष्ठ २०७८, शनिबार २३:२५
दर्जाले नेपाली सेनाका जर्नेल । कृषि कर्मको बिषय सुन्ने वित्तिकै हुरुक्क हुने किसानका प्रेरणा हुन नेपाली सेनाका नम्बर २४ बाहिनीअड्डा जुम्लाका बाहिनीपति सहायकरथी यामबहादुर सापकोटा । उनी नेपाली सेनाका जर्नेल हुन । तर कृषि कर्मलाई पनि उत्तिकै माया गर्छन । आर्थिक समृद्धिको आधार नै कृषि क्षेत्र ठान्छन । नेपाली सेनाबाट […]