सहायक सडकले मुख्य सडक जोखिममा

  ।   ६ आश्विन २०८०, शनिबार ०९:१७

जुम्ला — स्थानीय तहहरूले भीरपाखामा जथाभावी सहायक सडकहरू खन्दा कर्णाली राजमार्ग जोखिममा परेको छ । सहायक सडक खन्दा झरेको पहिरोले राजमार्ग हिलाम्मे हुने, पहिरो जाने र राजमार्ग साँघुरो बन्नाले सवारी आवागमनमा अवरोध हुने गरेको हो ।

डिभिजन सडक कार्यालय जुम्लाका अनुसार कालीकोटको शुभकालिका गाउँपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिकामा सहायक सडकले राजमार्ग जोखिममा छ । जुम्लाको तिला गाउँपालिका, तातोपानी गाउँपालिका, चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिकामा सहायक सडकहरूका कारण राजमार्गमा असर गरेका छन् ।

हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका नाग्म – गमगढी सडक अन्तर्गत पर्छन् । मुगुको छायानाथ रारा नगरपालिकामा पनि सहायक सडकले गर्दा मुख्य सडकमा समस्या देखिएको छ । डिभिजन प्रमुख दीपेन्द्र विष्टले सार्वजनिक सडक ऐन २०३१ अनुसार राजमार्गबाट पहुँच सडक बनाउन स्वीकृति लिनुपर्ने र सडक डिभिजनसँग समन्वय गर्नुपर्छ । स्वीकृतिका लागि पटक पटक स्थानीय तहरूलाई पत्र पठाए पनि कुनै पनि स्थानीय तहबाट सुनुवाइ नभएको प्रमुख विष्टले बताए ।

´कालीकोटको शुभकालिका गाउँपालिकाले साविक कर्णाली राजमार्गको दहीखोला नजिकैबाट गाउँ जाने सडक बनाएको कारण राजमार्गमा ठूला – ठूला ढुंगाहरू खसेर सडकमा क्षति हुने गरेको छ । रोड सेफ्टी ब्यारीयरमा समेत क्षति पुगेको पाइएको छ । वर्षयाममा हिलो सडकमा आइ सडक अवरुद्ध हुने गरेको छ । तिलागुफा नगरपालिकाले फोइमहादेव जाने सडक बनाएको कारण हरेक वर्ष माटो र पानीसँगै लेदो बनेर सडकमा खस्ने गरेकोले भीग्म भन्ने स्थानमा वर्षाको समयमा सधैंजसो सडक अवरुद्ध हुन्छ । हिलो सफा गर्दै यातायात सुचारु गर्नुपर्ने बाध्यता छ । यो बिडम्वना हो,` विष्टले भने ।

बिनास्वीकृति जथाभावी खोलिएका पहुँच सडकहरुको कारण राष्ट्रिय राजमार्गहरुमा सहज यातायात आवागमनमा अवरोध उत्पन्न भएको उनको भनाइ छ । ‘यसै पनि कमजोर भूगोल भएको कर्णालीमा वैज्ञानिक तवरबाट सडकहरुको निर्माण हुन सकेको छैन । राष्ट्रिय राजमार्गहरु निर्माणको क्रममा नै विस्तृत एवं वैज्ञानिक अध्ययनबिना सडक निर्माण गरिएको तथ्य यथावत छ,’ प्रमुख विष्टले भने,´सडक निर्माणको क्रममा प्राकृतिक रुपमा स्थिर रहेको जमिनलाई खलबल्याउँदा भीरपाखा वा जमिनको सन्तुलन गुम्न जान्छ र पहिरो आउँछ । जसले हरेक वर्ष पहिरोको सामना गरिरहनुपर्छ ।’

कमजोर भूगोल भएको स्थानमा सामान्य वर्षाको समयमा पनि ठूलो क्षति हुने गरी पहिरोहरु आउनसक्ने हुन्छ । गत वर्ष असोजको १९ गतेदेखि भएको अविरल वर्षाले साविकको कर्णाली राजमार्ग तथा नाग्म गमगढी सडकलाई क्षतविक्षत बनाएको थियो । स्थानीय तहहरुले शाखा सडक खोल्दा वर्षाको समयमा पानी र माटो मिसिएर हिलो बनी सडकमा आउनाले पटक-पटक यातायात अवरुद्ध भई सुचारु गर्नुपर्ने बाध्यता छ ।

डिभिजन कार्यालय जुम्लाले भने स्थानीय तह तथा प्रदेशबाट सडकहरू निर्माण गर्नुअघि राजमार्गबाट छुट्टिने सडकहरु भएमा सम्बन्धित निकायबाट स्वीकृति लिएर तथा राजमार्गलाई असर नपर्ने गरी निर्माण गर्नसमेत आग्रह गरेको छ ।

Next Post

प्रधानमन्त्री दाहाल चीनको हाङचउमा

६ आश्विन २०८०, शनिबार ०९:१७
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङचउ पुगेका छन् । न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शनिबार बिहान हाङचउ पुगेका हुन् । प्रधानमन्त्री दाहाल १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीनको उत्तर दक्षिणी सहर हाङचउ पुगेका हुन् । हाङचउमा प्रधानमन्त्री दाहाललाई चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काओ झिदान, चीनका […]