मेसीको सपना पूरा, नेइमारको अधुरै

  ।   २७ असार २०७८, आईतवार ०८:४१

वर्तमान विश्वका उत्कृष्ट खेलाडीबारे कुराकानी गर्दा अर्जेन्टिनाका लियोनल मेसीसँगै पोर्चुगलका क्रिष्ट्रियानो रोनाल्डोको नाम चर्चामा आउँछ । उनीहरुसँगै नेइमारको नाम पनि जोडिन्छ ।

ब्राजिलका महान् फुटबलर पेलेसहित कतिपयले नेइमार नै उत्कृष्ट रहेको दाबी पनि बेला–बेलामा गर्ने गरेका छन् । मेसीले देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन नसक्दा उनको ठूलो आलोचना हुने गरेको थियो । २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका मेसीले आइतबार कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जिताउँदै आलोचकहरुको मुख बन्द गरेका छन् ।

ठिक, यहींनेर नेइमारको सपनामा धक्का लाग्यो । ठूला प्रतियोगिताको उपाधि उचाल्ने उनको सपना पूरा हुन सकेन । नेइमारले ब्राजिलबाट कन्फेडेरेशन कप र ओलम्पिक स्वर्ण जितेका छन् । तर, यी दुबै प्रतियोगितालाई ठूलो प्रतियोगिता मानिँदैन ।

नेइमारको उत्कृष्ट प्रदर्शनमा  ब्राजिलले घरेलु मैदानमै आयोजित २०१४ को विश्वकपको सेमिफाइनल यात्रा गरेको थियो । तर घाइते भएकाले उनले सेमिफाइनल खेल्न पाएनन्, जहाँ जर्मनीले घरेलु टोलीलाई ७–१ ले हरायो । २०१८ को विश्वकपमा नेइमारको ब्राजिल बेल्जियमसँग क्वाटरफाइनलमा पराजित हुँदै बाहिरियो । २०१९ मा ब्राजिलले कोपा अमेरिका जितेको थियो, तर यतिबेला चोटका कारण नेइमार टोलीमा थिएनन्  ।

Next Post

कर्णाली प्रदेश सरकारको बजेट पास हुने संभावना कम हुदै

२७ असार २०७८, आईतवार ०८:४१
वीरेन्द्रनगर — कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेट चालु आर्थिक वर्षमै पास हुने सम्भावना न्यून हुँदै गएको छ । आइतबारसमेत बजेटमाथिको छलफल हुन नसकेपछि संसद्बाट बजेट पारित हुने सम्भावना साँघुरिँदै गएको हो । प्रदेश सरकारले असार १ गते ३६ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको थियो । तर प्रमुख प्रतिपक्षी एमालेको निरन्तरको […]