वर्षाले धानबाली नष्ट,भोकमरी हुने त्रास

  ।   ३ कार्तिक २०७८, बुधबार ०६:१६

जुम्ला चन्दननाथ नगरपालिका ४ का लछी सार्की बिहानै खेतमा पुगेर आली खनेर जम्मा भएको पानी निकासा गर्दै थिए। खेतमा धानका बाला पानीमा डुबेका थिए। धान झरेर छरपष्ट थियो। उनी खेतको एक छेउदेखि संकलित पानी बाहिर फाल्दै थिए। पानी जम्मा भएर खेत पोखरी बनेका छन्। उनले भने,‘काटेर सुकाउन राखेको धानका बाला निथ्रुक्क भिजेका छाना। दाना खेतभरि छन्। यो अवस्था देखेर निकै उदेक लाग्यो।’

वर्षा भएदेखि उनी राम्रोसित निदाएका छैनन्। उनी खेतमा काटेर राखेको धान कसरी घर भित्र्याउने भन्ने मै सोचिरहेका छन्। उनले भने,‘निरन्तर वर्षा भइरहेको छ। खेतमा धानका दाना जताततै बगिरहेका छन्। न मेहनत रह्यो न त फल पाइयो। खेतको आलीमा बसेर टुलुटुलु हेर्नुबाहेक केही छैन।’

उनको ६ मुरी खेतमा धान लगाइएको थियो। सबै खेतमा धान काटिसकिएको छ। नकाटेको धानमा खासै असर परेको छैन तर काटेको धान भिजेर काम नलाग्ने भइसकेको छ। उनले थपे,‘यो धान कुटेर निकालेको चामलको भात पनि खान लायक हुने छैन। ढिडो पकाएर खानुपर्ने देखिन्छ।’ उनले यो वर्ष ज्यालादारी काम गरेर शहरिया चामल खरिद गरेर खानुपर्ने बाध्यता आइलागेको सुनाए।

धान खेतीले हिउँदा ६ महिना मज्जैले खाना पुग्थ्यो । चन्दननाथ ४ कै सुक सार्की वर्षाले धान सखाप बनाएपछि निकै चिन्तत छन्। खेतमा पुगेर धानको अवस्था हेरेर भावुक हुने मन लाग्छ। उनले भने,‘कडा मेहनत गरेर फलाएको धान भित्र्याउने बेला भएको यो नोक्सानीले मन कटक्क खान्छ। उनले भने,‘धानको दाना झरेर बला रित्तिएका छन्। तैपनि केही धानका दाना बचाउन सकिन्छ कि भनेर आली खनेर पानी निकासा गर्न आइपुगेको छु।

उनको ६ मुरी खेत छ। केही धान बगेर गइसकेको छ। सबै धान झरिसक्यो। बाला भिजेको छ। यो धानले ६ महिना धान्न सकिने अवस्था हँुदैनन्थ्यो,अब झनै समस्या आइपर्ने भयो। उनले भने,’‘यो वर्ष भोकमरी हुने त्रास छ। परिवार कसरी पाल्ने भनेर समस्या भइरहेको छ।

लछी र सुक उदाहरण मात्र हुन्। यहाँका सबै किसान अहिले वर्षाका कारण बिचल्लीमा छन्। खेतमा राखिएको धान छैन।’ जिल्ला कृषि विकास कार्यालय जुम्लाले यो पटक जुम्लाको धान खेती वर्षाले नष्ट पारिसकेको बताएको छ। कृषि प्राविधिक लछिराम महत काटिसकेको धान नचलाउने सुझाव दिएका छन्।

काटिसकेको धान चलाउदा झनै झर्ने र नष्ट हुने खतरा बढ्छ,उनले भने,‘धान केही नचलाउनु होला। घाम लागिसकेपछि निरन्तर दुईतीन दिनसम्म सुकाउनु होला अनि मात्र भण्डारण गर्नु होला। यही नै उत्तम विकल्प छ।’

जुम्लामा कुल २९ सय हेक्टरमा धान खेती गरिएको छ। जसमध्ये १५ सय हेक्टरमा उन्नत जातको धान खेती गरिएको छ। १४ सय हेक्टरमा मार्सी धानको खेती गरिएको हो। वर्षाले उन्नत जातको धानमा भन्दा पनि मार्सी धानमा बढी क्षति पुगेको किसान बताउँछन्।

पछिल्लो समयमा मार्सी चामलको बजारमा माग बढेसंगै उत्पादनमा किसान हौसिएका थिए। तर यो पटक वर्षाले धान सखाप पारेपछि निकै समस्या भइरहेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा काटेको धानमा चिस्यान बढेकोले घुनकिरा लाग्ने खतरा बढेको बताउँछन्। उनले निरन्तर वर्षा भए खेतमै धान कुहिने त्रास बढेको बताए।

जिल्ला कृषि विकास कार्यालय जुम्लाले धान खेतीमा किसानलाई लाग्न आग्रह गरिरहेको थियो। किसानले वर्षाले धान खेती सखाप गरेको भन्दै उचित राहतको व्यवस्थापन गर्न माग गरेका छन्। अहिले जुम्लाका खेत पोखरीमा सावित भएका छन्।

Next Post

जलवायु परिवर्तनले बेमौसमी विपत्ति

३ कार्तिक २०७८, बुधबार ०६:१६
काठमाडौँ — आइतबारदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोले कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका मात्र ८ जना छन् । बैतडीमा ३, सुनसरीमा २, सिन्धुली, डडेलधुरा र कालीकोटमा एक/एक जनाको ज्यान गएको हो । बझाङमा २४ र डोटीमा १ गरी २५ जना बेपत्ता छन् । नदी तथा खोलामा जलस्तर बढेर बस्ती पस्दा […]