बालविवाह रोक्ने अभियान चलाउने प्रतिबद्धता

  ।   ४ पुष २०७८, आईतवार १७:४७

समाजमा व्याप्त बालविवाह रोक्न जुम्लाका स्थानीयतहले अभियान चलाउने भएका छन्। उनीहरुले बालविवाहको तथ्यांक संकलन गर्ने,बालविवाहको कारण पत्ता लगाउने र बालविवाह रोक्नको लागि कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

बालविवाह सम्बन्धि सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रममा उनीहरुले बालविवाह न्यनिकरण अभियानमा तदारुकताका साथ लाग्ने जनाएका हुन्। जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले बालविवाह गाउँमा व्यापक रुपमा भइरहेकोले न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रम भइरहेको बताइन्।

उनले भनिन्,‘गाउँमा बालविवाह लुकिछिपी भइरहेको छ। त्यो तथ्यांक संकलन हुन सकेको छैन। अब स्थानीयतहले तथ्यांक संकलन गरेर बालविवाह हुनुको कारण बारेमा पहिचान गर्नेछ। यो अभियानमा जनप्रतिनिधि,कर्मचारी र गाउँपालिकाबासी जागरुक भएर लाग्नु पर्ने बेला आइपुगेको छ। ’

उनले शिक्षक,कर्मचारी,जनप्रतिनिधिबाटै बालविवाहलाई प्रोत्साहन दिने काम भइरहेको भन्दै उनीहरुलाई कानुनको दायरामा ल्याउनु पर्नेमा जोड दिइन्। तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढाले बालविवाह बारेमा पालिकास्तरमा घनिभुत रुपमा छलफल चलाउने बताइन्। उनले बालविवाह रोक्न हरेक संयन्त्रको प्रयोग गर्दै जनचेतनामुलक क्रियाकलापलाई बढवा दिने बताइन्। उनले भनिन्,‘बालविवाह सामाजिक कुरीति हो। कुरीतिको रुपमा रहेको बालविवाह अन्त्य अभियानमा सबै एकजुट भएर लाग्नु पर्ने देखिएको छ। ’

उपाध्यक्ष बुढाले नीति तथा कार्यक्रममै विहेवारी २० वर्षपारी भन्ने कार्यक्रम अघि बढाइसकेको जानकारी दिइन्। उनले चालु आर्थिक वर्षभित्रमा एउटा गाउँलाई मात्र बालविवाह मुक्त गाउँका रुपमा घोषणा गर्ने बताइन्। दलित बस्तीमा बालविवाह बढेको,स्थानीयतहले सडक खन्नुलाई मात्र विकासका रुपमा लिएको र बालविवाह मुक्त समाज निर्माण गर्न अग्रसर नभएको गुनासो सहभागिले गरेका थिए।  राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाका अधिकृत धनराज शाहीले समाजले बालविवाहलाई सहज रुपमा स्वीकार गरेकोले नै बालविवाह बढेको बताए। उनले भने,‘गरीबि,अशिक्षा र कानुनी ज्ञानको अभावले बालविवाह बढेको देखिन्छ।

अब स्थानीयतह र सबै सरोकारवाला मिलेर सचेतनाका कार्यक्रम ल्याउदा उपयुक्त हुनेदेखिएको छ। ’बालविवाह रोक्न बाल संरक्षण संयन्त्रको विकास गर्नुपर्ने,अन्तर संवाद चलाउनु पर्ने,धार्मिक गुरु अभिमुखीकरण गर्नुपर्ने सहभागिले जोड दिएका थिए।

प्रहरी निरीक्षक युवन चौधरीले बालविवाह गरेको उजुरी अहिले सम्म नपरेको बताए। उनका अनुसार आर्थिक बर्ष २०७५/०७६ मा २ वटा बालविवाहका उजुरी परेका थिए। त्यो भन्दा पछिल्लो समयमा उजुरी परेका छैनन्। सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलराज चौलागाईले बालविवाह विरुद्ध जिल्लाभर अभियान चलाउनु पर्ने बताए।

उनले जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय,स्थानीयतह,बालक्लव,किशोर/किशोरी समुह सबैको प्रतिनिधित्व हुने गरि लुज फोरम बनाएर अघि बढ्नु पर्नेमा जोड दिए। निमित्त प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बालविवाहलाई सरकारले कुरीतिका रुपमा घोषणा गरिसकेको अवस्थामा कानुनी ज्ञान फैलाउनुको विकल्प नभएको बताए। उनले भने,‘बालविवाह भएको खण्डमा सम्बन्धित निकायमा उजुरी दिनु पर्यो। ’प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र क्याड नेपालको आयोजनामा बालविवाह सम्बन्धि सरोकारवाला संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, स्थानीयतहका महिला तथा बालवालिका शाखा प्रमुख,स्थानीयतहका उपाध्यक्ष,वडाध्यक्ष,न्यायिक समितिका सदस्यहरु,बालक्लव, सरकारी तथा गैरसरकारी निकायाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो। सबै मिलेर बालविवाह नियन्त्रण गर्ने अभियान चलाउने विषयमा छलफल केन्द्रीत भएको क्याड नेपालका परियोजना अधिकृत जयालक्ष्मी चौलागाईले जानकारी दिइन्।  चन्दननाथ नमुना माध्यमिक विद्यालय जुम्लाका प्रधानाध्यापक टंकबहादुर महतले बालविवाहको विगत,वर्तमान अवस्थाका बारेमा सहजीकरण गर्दै भविष्यमा गर्नुपर्ने कामका बिषयमा आफ्नो प्रस्तुती राखेका थिए।

सहभागि सबैले ६ बुदे प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै आगामी दिनमा कुरीतिका रुपमा रहेको बालविवाह मुक्त जिल्ला बनाउने अभियानमा हरप्रकारले अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन। बालविवाह न्युनिकरण अभियानमा लाग्न सबै सरोकारवालाले बालविवाहको तथ्यांक संकलन गर्ने,जिल्ला स्तरीय कार्ययोजना निर्माण गर्ने,र बालविवाह विरुद्धको अभियान सञ्चालन गर्न जिल्ला स्तरीय सञ्जाल गठन गर्ने निष्कर्षमा पुगिएको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए।

उनका अनुसार बालविवाह सम्बन्धि ऐतिहासिक पृष्ठभुमिको अध्ययन अनुसन्धान गर्ने कार्यलाई प्रोत्साहित गर्ने,बालविवाह सम्बन्धि स्टोरी लेखन तथा पुस्तक प्रकाशन गर्ने,हरेक तीनतीन महिनामा जिल्लास्तरीय समिक्षा गर्ने र बैठकमा पेस गर्ने बिषयमा समेत घनिभुत छलफल भएको बताए।

Next Post

स्याउ रोप्न खाडल खन्न शुरु

४ पुष २०७८, आईतवार १७:४७
गोल्डेन बुढा, जुम्लामा स्याउ विरुवा रोप्नको लागि खाडल खन्न शुरु गरिएको छ । पुस महिना देखि माघ महिनाको अन्त्य सम्म विरुवा रोप्न सकिन्छ । स्याउको विरुवा रोप्नु भन्दा पहिले नै खाडल खन्दा ध्यान दिनु पर्ने कृषि विज्ञहरु बताउँछन । स्याउ विरुवा रोप्नको लागि खाडल खन्दा कम्तिमा ५ मिटर दुरीको फरकमा […]