हियाखोलामा होजियारी उद्योग खोल्ने तयारी

  ।   ५ फाल्गुन २०७८, बिहीबार १४:१६

जुम्ला,फागुन ५।
जुम्ला तातोपानी गाउँपालिका ६ की तिलनदेबी कामी अहिले हातेहोजियारी सीप सिक्नमै ब्यस्त छिन । उनी बिहान बेलुकीको समयमा स्वीटर,हाइनेक देखि उनीको कपडा बुन्नमै अधिकांस समय बिताउँछिन । उनले महिला,बालबालिका,पुरुषका लागि पनि कडा बुन्न सक्ने भइसकेकी छिन ।
गाउँमै तातोपानी गाउँपालिका ६ ले ६ महिने होजियारी सीप दिएपछि अहिले निकै राम्रो भएको उनी बताउँछिन । उनले भनिन्,‘पहिले अर्कोले बुनेका कपडा किनेर लगाएका हामी अहिले आफै कपडा बुनेर लगाउने भइसकेका छौँ । आगामी दिनमा होजियारी सीपका माध्यमबाट आर्थिक समृद्धिको यात्रा तय गर्ने लक्ष्य छ । ’
अहिले स्वीटर,हाइनेक,टोपी,मफ्लर, मोजा सम्म बनाउँछौँ । उनले भनिन्,‘सिक्दैछौँ सिक्छौँ । तर घरमै बसेर भएपनि कमाउने बाटो पहिल्याउदैछौँ । यहीबाट यहाँका महिलाको लागि निकै अनुकुल हुनेछ । ’हियाखोलाकै पार्वती कामीले सात कक्ष पढ्दै स्कुल छोडिन ।सानै उमेरमा विवाह भएपछि उनले पढ्न पाइन्न । न स्कुलमा पढ्न पाए,नत राम्रो संग काम सिक्न पाए । उनले भनिन्,‘अहिले परम्परागत घरायसी काममा लुडिबुडि गर्नुको विकल्प छैन । ’
गाउँमै बेरोजगार र अशिक्षित महिलालाई केन्द्रमा राखेर होजियारी सीप दिन थालेपछि अहिले उनी विभिन्न कपडा बुन्ने कार्यमा अग्रसर छिन । तीन महिना सिक्यौँ । अब तीन महिना सम्म सिक्दैछौँ । होजियारीका माध्यमबाट कसरी रुपैयाँ कमाउन सकिन्छ भन्ने बारेमा विकल्प खोज्दैछौँ । उनले भनिन्,‘हाम्रो लागि उपयुक्त काम भनेको यही नै हो जस्तो लाग्छ । ’
तिलनदेबी र पार्वती उदाहरण मात्र हुन । उनी जस्तै गाउँकी सात जना महिलाले होजियारी सीप सिक्दैछिन । पहिलो तीन महिनामा सादा र विभिन्न डिजाइनका कपडा बुन्न सिक्यौँ,उनले भनिन्,‘अब मेसिन मर्मतको काम देखि अन्य डिजाइनका कपडा बुन्न सिक्दछौँ ।’
अहिले उनीहरु पाउ देखि शिर सम्मको सबै कपडा बुन्न सक्ने भइसकेका छन । यहाँ बुनेको कपडा निकै सस्तो र गुणस्तरीय हुने स्थानीय बताउँछन । मोजा देखि टोपी सम्मको सबै कपडा बुन्न सक्ने भइसकेका छन । स्थानीय गोठे कामीले भने,‘घरभाडा र कालिगढ भाडा नतिर्नु पर्ने भएकोले घरको ढिडो खाएर गाउँमै बसेर कपडा बुन्न सकिने अवस्था छ । यो व्यवसाय यहाँको लागि निकै उपयुक्त छ । ’
अहिले यहाँका महिलाले विहान ६ देखि १० बजे सम्म र बेलुकी ६ देखि १० बजे सम्म होजियारी सीप लिइरहेका छन । दिउँसो बिजुली बत्तिको व्यवस्था हुन नसकेकोले घरायसी काममा व्यस्त हुन्छन । गाउँले बेरोजगार छौँ । यो कामले निकै राम्रो गरेको छ । अब गाउँमा एक उद्योग दर्ता गरेर व्यवसायीक रुपमा अघि बढ्ने लक्ष्य रहेको छ । यो वडाध्यक्ष ज्यू को राम्रो काम हो । गोठेलेभने,‘यो कामले सरकार गाउँका बेरोजगार नागरिक प्रति सरकार कति जिम्मेवार छ भन्ने प्रमाणित गरेको छ ।’
वडाध्यक्ष विशाल खड्का होजियारी उद्योगले मात्र यहाँका महिलाको आयआर्जनमा सहयोग पुग्ने बताउँछन । अहिले सम्म यहाँ नागरिक सरकारी कर्मचारी हुन सकेका छैनन । यो वडाको सबैभन्दा दुर्गम गाउँ भनेको हियाखोला हो । उनले भने,‘अब यो गाउँलाई रोजगारी सिर्जना गर्ने गाउँका रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ । होजियारी उद्योगका माध्यमबाट मात्र यो संभव छ । ’
यो वडा कार्यालयले यहाँका बेरोजगारीलाई रोजगारी दिनको लागि विभिन्न विकल्प अवलम्वन गरेको छ । जसमध्ये हियाखोला गाउँ एक हो । वडाध्यक्ष खड्काले भने,‘पहिलो चरणमा यहाँका महिलाले होजियारी सिक्दैछन । सीप सिकेर कपडा तयार गर्ने अवस्था भएको खण्डमा बजारीकरणको व्यवस्थापनका लागि लाग्ने छौँ । यहाँ उत्पादित कपडा देश विदेशमा जाने वातावरण सिर्जना हुनेछ ।’
होजियारी तालिमका लागि गाउँपालिकाले १५ लाख रुपैयाँ बिनियोजन गरेकोे छ । यो कार्य सामान्य लागतमा हुने देखिएन । वडाध्यक्ष खड्काले थपे,‘होजियारी उद्योगको यहाँ आवश्यक ठान्यौँ । अहिले सामान्य संस्थाको भवनमा सीप प्रदान भइरहेको छ । यसका लागि प्याकेजिङ र सिलाई गर्ने ठाउँ फरक चाहिने रहेछ । अब उद्योगको भौतिक संरचना निर्माणमा जोड दिनेछौँ ।’
उनले हियाखोलालाई होजियारी उद्योगको रुपमा विकसित गर्ने तयारी भइरहेको बताए । होजियारी उद्योगले आत्मनिर्भर गाउँ बनाउने लक्ष्य राखिएको छ । प्रशिक्षक रामप्रसाद छत्कुलीले यहाँका महिलाले निकै सिक्ने प्रयास गरेको बताए । उनले भने,‘तीन महिनामा यहाँका महिलाले धेरै सिकेका छन । अब तीन महिनामा धेरै सिक्ने छन । यहाँ उत्पादित कपडाको माग पनि उच्च हुनेछ । धादिङबाट सीप सिकाउन आएका छत्कुलीले यहाँ होजियारी उद्योगको संभावना निकै राम्रो देखिएको बताए ।
उनले भने,‘यहाँको हावापानी अनुकुलको कपडा तयारी हुनेछ । चिसो समयमा लगाउने र गर्मी समयमा लगाउने प्रकृतिका कपडा उत्पादन हुनेछन । ’होजियारी उद्योग स्थापना गरेर रोजगारी प्रदान गर्न स्थानीय सरकार लागि परेको वडाध्यक्ष खड्काले बताए ।

Next Post

जुम्लाका सबै स्थानीयतहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन

५ फाल्गुन २०७८, बिहीबार १४:१६
जुम्ला,फागुन ५। जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ । यसअघि जिल्लाको चन्दननाथ नगरपालिका,तातोपानी,गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो । सुपरजोन कार्यक्रम शुरु भएको पाँच बर्षपछि सिँजा क्षेत्रमा लागु भएको हो । सुपरजोन कार्यक्रम निमित्त प्रमुख गंगा पोखरेलले सिँजा क्षेत्रको हिमा,सिँजा,कनकासुन्दरी र […]