जुम्लाका सबै स्थानीयतहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन

  ।   ५ फाल्गुन २०७८, बिहीबार १५:१३

जुम्ला,फागुन ५।
जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ । यसअघि जिल्लाको चन्दननाथ नगरपालिका,तातोपानी,गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो । सुपरजोन कार्यक्रम शुरु भएको पाँच बर्षपछि सिँजा क्षेत्रमा लागु भएको हो ।
सुपरजोन कार्यक्रम निमित्त प्रमुख गंगा पोखरेलले सिँजा क्षेत्रको हिमा,सिँजा,कनकासुन्दरी र तिला गाउँपालिकामा कार्यक्रम लागु भएको बताइन् । उनका अनुसार पातारासी गाउँपालिकाका १,२, र ३ र गुठिचौरका १ र २ वडामा लागु गर्न समेत प्रत्र प्राप्त भएको छ । धेरै बर्ष प्रयास भयो । बल्ल पत्र प्राप्त भएको छ । उनले भनिन्,‘अब प्रदेश (ख) का चार स्थानीय तहमा कार्यक्रम लागु गर्ने कानूनी बाटो खुलेको छ । सबै तिर कार्यक्रम लागु भएपछि किसान उत्साहित छन ।’
प्रधानमन्त्री कृषि आधुकिकरण परियाजना कार्यान्वयन ईकाई खुमलाटारका निर्देशक बैकुण्ठ अधिकारीद्धारा हस्ताक्षरित पत्र जुम्ला पुगेको छ । जिल्लामा संचालित स्याउ सुपरजोन क्षेत्र बिस्तारको लागि परियोजना कार्यदलको पत्र र जिल्ला परियोजना कार्यन्वयन तथा अनुगमन समितिले कार्यक्षेत्र विस्तारको लागि सिफारीस गरेको थियो ।
निर्देशक अधिकारीले स्थानीयस्तरबाट आएको माग र प्राविधिक प्रतिवेदनको आधारमा जुम्लाका तिला, हिमा, सिञ्जा, कनकासुन्दरी र छुटेका क्षेत्रमा कार्यक्रम थप गर्ने काम भएको बताए । उनले भने,‘ निर्णय गर्न केही ढिला भयो । यो बर्ष थोरै क्रियाकलाप हुनेछन । अर्को आर्थिक बर्षबाट पुर्णरुपमा कार्यक्रम कार्यन्वयन हुनेछ । ’
परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित गर्नु हो । आधुनिक,व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने हो,उनले भने,‘ जसअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यन्वयन ईकाइ स्थापना गरि काम भईरहेको छ । ’
प्रमुख कृषि क्षेत्रहरुको बिशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्यात योग्य कृषि बस्तुहरुको मुल्य अभिबृद्धि गर्दै प्रतिश्पर्धात्मक बजारमा लैजाने ध्यायले सुपरजोन कार्यक्रमले किसानलाई प्रविधि सिकाउने, अनुदान कार्यक्रम दिने काम गर्दै आएको छ ।
सुपरजोन कार्यालयका निमित्त प्रमुख पोखरेलले स्याउसँगै आर्थिक समृद्धि जोडिएको जुम्लामा परियोजनाले विस्तृत अध्ययन गरेर पिछडिएको सिञ्जा क्षेत्रमा कार्यक्रम लागु गर्ने बताइन । कार्यालयका अनुसार तिला गाउँपालिकामा भने सिमी जोन कार्यक्रम लागु समेत गरिएको छ । सिमीको उत्पादन बृद्धि तथा बजारीकरणका लागि कार्यक्रम तिला १ र २ मा कार्यक्रम लागु गरिएको हो । सुपरजोन स्थापना भएपछि कृषि प्रविधि, हाईटेक नर्सरी, घेरावार, सिचाई, विरुवा अनुदान लगायतका कामहरु भईरहेका छन् ।
राज्यको लगानीमा संचालित परियोजनामा भने प्रयाप्त जनशक्ति नहुनु, बजेट पनि वास्तविक व्यवसायीकरणका लागि अपुग हुने गरेको किसान अगुवाको गुनासो छ । सिँजा क्षेत्रका किसान गोपाल रोकायाले सुपरजोन परियोजनामा प्राप्त बजेट र जनशक्ति हुनुपर्ने आवश्यक रहेको र सरकारले प्रथामिकता दिनुपर्ने बताए ।

Next Post

कनकासुन्दरीमा केन्द्र विवाद कायमै,आठौँ गाउँसभा स्थगित

५ फाल्गुन २०७८, बिहीबार १५:१३
उमेश बुढा,कनकासुन्दरी, जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्र विवाद कायमै छ । अहिले सम्म न केन्द्रको टुंगो लागेको छ,नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ । जब सम्म केन्द्र विवाद टुंगिएर अघि बढ्दैन तब सम्म गाउँसभा हुन नदिन गाउँसभा सदस्यहरुले अडान लिएका छन । गाउँपालिका केन्द्र विवाद समाधान नभएको भन्दै […]

सम्बन्धित