पातारासीमा सहकारीको स्वास्थ्य सेवा केन्द्रले राहत

  ।   २९ फाल्गुन २०७८, आईतवार ११:३७

गोल्डेन बुढा,

जुम्लाको चन्दननाथ वहुद्धेशिय सहकारी संस्था लिमिटेडले पातारासी गाउँपालिकामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ । सहकारीले स्वास्थ्य सेवाकेन्द्र स्थापना गरेपछि स्थानीयले सहजै रुपमा स्वास्थ्य सेवा लिने गरेका हुन ।

टाउको दुख्ने र दमको रोगी पातारासी ५ की ८६ बर्षकी चाँदनी खड्का गाउँमै स्वास्थ्य सेवा केन्द्र स्थापना भएपनि सामान्य औषधिको बजार सदरमुकाम खलंगा आउनु पर्ने बाध्यता हटेको बताउँछिन । एक बर्ष अघि सम्म औषधि खरिद गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पुग्नु पर्ने अवस्था थियो । मेडिकलमा महंगो औषधि किनेर खानु पर्ने थियो । चाँदनीले भनिन्,‘अहिले गाउँकै सेवा केन्द्रमा औषधि पाउँछ । यो जत्तिको खुुसीको कुरा के हुन सक्छ र ? ’
सदरमुकाम खलंगामा पुगेर औषधि किन्नु भन्दा आउजाउ गर्ने गाडी भाडाको खर्च बढि हुन्थ्यो । तर अहिले त्यो समस्या टरेको खड्का बताउँछिन् । जुनसुकै समयमा बिरामी भएपछि नजिकैको सेवा केन्द्रमा गएर चेकजाँच गर्न सहज भएको छ । औषधि पनि पाइन्छ ।
एक बर्ष देखि सहकारीले पातारासी ५ लासी बजारमा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको थियो । गाउँपालिका भित्रका सात वटै वडामा बिरामी स्वास्थ्य केन्द्रमा आएर स्वास्थ्य सेवा लिन्छन । सरकारी स्वास्थ्य संस्था भन्दा थप औषधि यहाँ पाइन्छ ।
विगतमा प्राथमिक उपचार गर्न खलंगा आउनु परिरहेको हुन्थ्यो । उपचार गर्नकै लागि एक दिन बित्थ्यो । समयको बर्वादी पनि हुन्थ्यो । बिरामीलाई ल्याउन लैजान पनि निकै झंझटिलो थियो । अहिले निकै सहज भएको छ । स्वास्थ्य सेवा केन्द्रमा अधिकांस रोगको उपचार हुने गरेको छ ।
स्वास्थ्य सेवा केन्द्रबाट अहिले सामान्य खालका टाउ दुख्ने,ग्याष्ट्रिक, पेट दुख्ने, घाउचोटको ड्रेसिङ गर्ने,महिलाको तल्लो पेट दुख्ने र प्रेसर नाप्ने लगायतका आधारभुत स्वास्थ्य सेवा प्रदान भइरहेको छ । स्वास्थ्य केन्द्रका बेलमाया बोहोरा दैनिक १० देखि १२ जना सम्म बिरामी उपचारका लागि आउने गरेको बताउँछिन । पहिले स्वास्थ्य संस्थामा औषधि अभाव भइरहन्थ्यो । स्वास्थ्य संस्थामा औषधि नहुँदा मेडिकलको महंगो औषधि सेवन गर्न वाध्य थिए । सहकारीका व्यवस्थापनक क्रृषिराम पाण्डेले भने,‘अहिले सरकारी स्वास्थ्य सेवा केन्द्र भन्दा बढि औषधि पाइन्छ । सेवा पनि गुणस्तरको छ । सेवा केन्द्र प्रति स्थानीयको आकर्षण बढ्दो छ । ’
दुरदराजमा स्वास्थ्य सेवा दिने,घरदैलोमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने र जनतालाई औषधिमा चर्को मुल्य तिर्नबाट बचाउने हेतुले स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिएको व्यवस्थापनक पाण्डे बताउँछन । सहकारीको ऐन, नियम अनुसार नै स्वास्थ्य सेवा प्रदान गर्न थालिएको हो । पातारासी गाउँपालिका अध्यक्ष लछिमन बोहोरा गाउँपालिकाबासीलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन सजिलो भएको बताए । स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी सहज रूपमा न्यूनतम स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाले पनि समन्वय गरेको उनले बताए । सहकारीले स्वास्थ्य सेवा निकै प्रभावकारी तरिकाले दिएको छ । उनले भने,‘स्वास्थ्य केन्द्रबाट दिइने सेवा सुविधा निकै चुस्त दुरुस्त छ । घरदैलो सेवा समेत दिने गरेको छ । यो राम्रो पक्ष हो । ’
२०३१ सालमा स्थापना भएको चन्दननाथ सहकारी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याउने पहिले सहकारी हो । स्थानीय स्तरमै सामान्य रोग परीक्षण गरी निराकरण गर्न सकिएको चन्दननाथ सहकारीले जानकारी दिएको छ । सहकारीका पदाधिकारीको बंगलादेश भ्रमणपछि जुम्लामा पनि स्वास्थ्यका क्षेत्रमा काम गर्न थालेको हो । व्यवस्थापक पाण्डेले स्वास्थ्य सेवा केन्द्रलाई आगामी दिनमा स्तरउन्नती गर्दै अस्पतालका रुपमा अघि बढाउने लक्ष्य रहेको बताए । उनले भने,‘दुरदराजका नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने कार्यको थालनी भइसकेको छ । अब अस्पताल निर्माणका लागि पनि पहल हुनेछ । ’

Next Post

हिंसा न्युनिकरणमा जुर्मुराउँदै जुम्ला

२९ फाल्गुन २०७८, आईतवार ११:३७
गोल्डेन बुढा, पछिल्लो समयमा महिला हिंसाका घटना बढ्न थालेपछि सबै प्रकारका हिंसा न्युनिकरणमा जुम्ला जुर्मुराएको छ । हरेक क्षेत्रमा कानुनी ज्ञान दिने, मानवअधिकार र महिला अधिकारका बारेमा सचेतना फैलाउने देखि जरवाना र सजायको बारेमा सरोकारवालाबीच सहजीकरण हुन थालेको हो । हिंसा अत्यधिक रुपमा बढिरहेका छन । तर उजुरी गर्ने निकायामा […]