जुम्लामा सशस्त्र प्रहरीको ब्यारेक निर्माणको काम सुरु

  ।   २६ फाल्गुन २०७९, शुक्रबार ०७:०५

जुम्ला । लामो समय देखि आफ्नो ब्यारेक नहुंदा छरिएर बसेको सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाको ब्यारक बनाउने कार्य सुरु भएको छ । तातोपानी गाउँपालिकाले उपलब्ध गराएको ९ रोपनी ३ धुर जग्गामा ब्यारेक निर्माणको काम सुरु भएको हो । तातोपानी ५ स्थित डुठाचौरमा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले संयुक्त रुपमा चार वटा भवनको शिलान्यास गरेर ब्यारेक निर्माणको काम सुरु गरेका हुन ।
कुल चार करोड ५१ लाख रुपैयाँमा बन्न लागेको भवन निर्माणको काम ६ महिनामै सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जाहेर गरेको छ । ओम बज्र जेभी निर्माण सेवाले ११ महिना भित्र सकाउनु पर्ने समय भएपनि ६ महिनामै भवनको काम सकाएर सशस्त्र प्रहरीलाई बुझाउने गरि काम हुने जनाएको छ । पहिलो चरणमा जवान ब्यारेक,क्वाटरगार्ड,अफिस र गणपति निवास बन्न लागेको सशस्त्र प्रहरीका एसपी चेतराज जोशीले जानकारी दिए । उनका अनुसार ब्यारेकमा पानी र बिजुली पुगिसकेको छ ।
ब्यारेकमा भवन शिलान्यसका क्रममा पुगेका जुम्लाका स्थानीयतहले कम्तीमा १ कम्पनी अटाउने गरी भौतिक संरचना निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । सशस्त्र प्रहरीको ब्यारेक निर्माणको लागि सबै स्थानीयतह सकरात्मक छन । उनले भने,‘ अब सशस्त्र प्रहरीको व्यवस्थापन सहज हुनेछ । ’
सशस्त्र प्रहरीको ब्यारेक निर्माणको लागि जालपा सामुदायिक वनले चाहे जति जग्गा उपलब्ध गराउने जनाएको छ । ब्यारेक नहुँदा कहिले एयरपोर्ट, कहिले सीडीओ कार्यालय, कहिले महिला तथा बालबालिका कार्यालयमा त कहिले कर्मचारी आवासमा बसेर दिन गुजार्नुपर्ने अवस्था थियो । हाल प्रशासन कार्यालय, महिला बालबालिका कार्यालय र कर्मचारी आवास गरेर तीन स्थानमा सशस्त्र प्रहरी बसिरहेको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सशस्त्र प्रहरीको आफ्नै ब्यारेकको काम सुरु भएकोले व्यवस्थापनमा निकै सहज हुने बताए । उनले भने,‘आफ्नै ब्यारेक हुंदा विपद् व्यवस्थापन देखि आफ्नो नियमित,रोलकाल देखि खटनपटनमा निकै सहज हुने देखिन्छ । यो राम्रो पक्ष हो । ’

Next Post

सामाजिक कुरीति रोक्न माओवादी केन्द्र गुठीचौरको माग

२६ फाल्गुन २०७९, शुक्रबार ०७:०५
जुम्ला । नेकपा माओवादी केन्द्र गुठीचौर गाउँपालिका कमिटीले सामाजिक कुरीति रोक्ने अभियान सुरु गर्न माग गरेको छ । गाउँपालिका अध्यक्ष दानबहादुर बुढालाई ज्ञापन पत्र पेस गर्दै सामाजिक हानिकारक अभ्यासका रुपमा स्थापित बालविवाह,बहुविवाह,जारीप्रथा र छाउपडी प्रथा अन्त्य गर्ने खाले नीति तर्जुमा गरेर कार्यन्वयन गर्न माग गरेको हो । पालिका अध्यक्ष लालबहादुर […]