जुम्लाले गुमायो कुशल व्यवस्थापक

  ।   २ माघ २०८०, मंगलवार ०८:०७

जुम्ला ।
बाँकेको नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस दाङको भालुबाङनिर राप्ती नदीमा खस्दा जुम्लाले पनि एक कुशल सहकारी व्यवस्थापक गुमाएको छ । जुम्ला चन्दननाथ नगरपालिका ८ का ४० बर्षिय मुनबहादुर रावतलाई गुमाएको हो । ३५ जना रहेको बसमा मुनबहादुर पनि सवार थिए ।
उनी पञ्चेश्वर बहुद्धेशीय सहकारी संस्थाका व्यवस्थापक हुन । चार दिने सहकारी लेखा सम्बन्धि तालिमका लागि सुर्खेत झरेका मुनबहादुर विभिन्न वितिय संस्थामा लोन प्रक्रियाका लागि फाइल बोकेर गएका थिए । काठमाडौंस्थित स्वरोजगार कोषमा एक करोड लोनका लागि फाइल पेस गर्नुपर्ने थियो । यसअघि स्वरोजगार कोषको ५० लाख रुपैयाँ पञ्चेश्वरले चलाएर चुक्ता गरिसकेको थियो । कोषमा लोन बढाएर बेरोजगार नागरिकलाई स्वरोजगार बनाउने लक्ष्य थियो ।
पञ्चेश्वर सहकारीका अध्यक्ष बल खत्रीका अनुसार उनीसंग सहकारीका तीनवटा फाइल थिए । सहकारी बैंक,साना किसान माइक्रो फाइनान्स र स्वरोजगार कोषको फाइल हुन । पञ्चेश्वर सहकारीका अध्यक्ष बलखत्री सिंगो जुम्लाले सहकारी अभियान्ता र कुशल व्यवस्थापक गुमाएको बताए । उनले भने,‘संधै कर्जा दिएर गरिब,निमुखाहरुको उद्यमशिलतामा जोड दिनुहुन्थ्यो । उहाँ नै बस दुर्घटनामा गुम्नु भयो । अब सहकारी व्यवस्थापक विहिन बन्यो । सहकारीकर्मीहरु टुहुरा जस्तै बनेका छन । ’
उनका अनुुसार मुनबहादुर जहाजमा जाने भन्दै सुर्खेत देखि नेपालगञ्ज हिडेका थिए । मुनबहादुर संग अन्तिम फोनकलमा कुरा भएको सुनाउदै उनले भने,‘जहाजमा मौसम खराबीका कारण जान सकिएन । बस चढें । बसको यात्रा पनि ठिकै छ भनिरहेका थिए । तर भालुवाङ दुर्घटनामा उनको निधन हुन पुग्यो ।
सहकारीको डकुमेन्टहरु सबै उनको साथमा छन । गत बर्ष मोटरसाइकल दुर्घटनामा उनको खुट्टामा चोट लागेकोले काठमाडौंको अस्पतालमा घाउ देखाउने उनको धोको थियो । स्थानीय गुरुप्रसाद चौलागाईले भने,‘न उपचार गराउन पाए । न त सहकारीको फाइल नै पेस गरे । उनको इच्छा मनमै रह्यो । ’
पञ्चेश्वरको कारोबार अहिले तीन करोड ८ लाख भन्दा बढि नै छ । कारोबारो बढाउने देखि सहकारीमा सर्वसाधारण नागरिकको पहुंच बढाउनुमा उनको भुमिका अग्रणी थियो ।
पुस महिनाको दोस्रो साता मात्रै उनले खाद्य व्यवस्था तथा ब्यापार कम्पनीसंग गाउँमा चामल बाड्न पाउने गरी सम्झौता गरेका थिए । मुनबहादुरका एक छोरा एक छोरी श्रीमति र आमाबुबा थिए । आमाबुवा ६० बर्षभन्दा माथिका छन । बुवा बिरामी भएकोले घरको सबै जिम्मेवारी मुनबहादुरको काँधमा थियो । अहिले उनको परिवार भावविह्वल बनेको छ । सिंगो श्रीढुस्का गाउँ शोकमग्न बनेको छ ।
बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ ।

Next Post

कालिजपालनमा जमेकी उपाध्याय

२ माघ २०८०, मंगलवार ०८:०७
जुम्लाको तातोपानी गाउँपालिका ४की गंगादेवी उपाध्याय गाउँपालिकाको पूर्व उपाध्यक्ष हुन्। उनले २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर पाँच वर्ष काम गरेकी थिइन्। पछिल्लो समय उनी राजनीतिकर्मभन्दा पनि कालिजपालक व्यवसायीका रूपमा परिचित छिन्। उनले ‘गौतम पशुपन्छी पालन फार्म’ दर्ता गरी गाउँमै कालिजपालन गरिरहेकी छिन्। उनले आफ्नो जग्गाको तीन हजार सात […]