स्थानीय उत्पादन बेच्दै, करोडौँ रुपैयाँ भित्र्याउदै जुम्ला

चालु आर्थिक बर्षमा ३१ करोड आम्दानी

  ।   २२ असार २०७८, मंगलवार ०९:०९

धनबहादुर बुढा
जुम्ला,असार २२।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले चालु आर्थिक बर्षमा ३१ करोड aरुपैयाँ बराबरको कृषिजन्य बस्तु जिल्लाबाहिर निर्यात भएको जनाएको छ । यहाँको उत्पादन काठमाण्डौँ,सुर्खेत,नेपालगंज लगायतका सहरमा निर्यात भएको हो । जुम्लामा उत्पादित कृषिबस्तुको माग बढ्दो अवस्थामा रहेको कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिए । उनका अनुसार स्याउ,ओखर,आलु,प्याज,जुम्ली मार्सीधान,मार्सी चामल,सिमी र जौँ जिल्ला बाहिर निर्यात भएको हो ।
जुम्लाबाट १६ करोड ५ लाख रुपैयाँको स्याउ जिल्ला बाहिर निर्यात भएको छ । ६ हजार २ सय १० मेट्रिकटन स्याउ उत्पादन भएकोमा ३ हजार ३ सय मेट्रिकटन जिल्ला बाहिर निर्यात भएको थियो । प्रतिकेजी ५० रुपैयाँको दरमा किसानले स्याउ बेचेका थिए । स्याउ जुम्लाको राजधानी हो । यहाँ स्याउको संभावना निकै राम्रो छ । स्याउ नै आर्थिक समृद्धिको आधार हो कृषि प्रमुख देवकोटाले भने,‘स्याउखेतिमा किसान आकर्षित भएका छन । स्याउलाई जीवन ठानेर संरक्षण गरिरहेकाछन । यो समृद्ध जुम्ला बनाउने एक आधार नै हो । ’
ओखर ५९० मेट्रिकटन उत्पादन भएकोमा ३२१ मेट्रिकटन जिल्ला बाहिर निर्यात भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांङकमा उल्लेख छ । ओखरबाट एक करोड रुपैयाँ भित्रिएको हो । प्रतिकेजी ओखर ४ हजार रुपैयाँ पर्छ । ओखर खेतिले यहाँका किसानको जीविकोपार्जनमा सहयोग पुगेको छ । कृषि प्रमुख देवकोटाले भने,‘ओखर खेति पनि जुम्लामा राम्रो संभावना बोकेको क्षेत्र हो ।’
आलु २७ हजार मेट्रिकटन उत्पादन भएको थियो । ११ हजार मेट्रिकटन जिल्लाबाहिर निर्यात भयो । ४ करोड ९५ लाख रुपैयाँ भित्रियो । प्रतिकेजी आलु ४५ रुपैयाँमा बिक्रि भएको थियो ।
प्याजबाट यो आर्थिक बर्षमा जुम्लामा एक करोड ५० हजार रुपैयाँ आम्दानी भएको छ । ३५५ मेट्रिकटन प्याज उत्पादन भएकोमा २०० मेट्रिकटन प्याज जिल्ला बाहिर निर्यात भएको थियो । संकटको समयमा यहाँको प्याजले राम्रै बजार पाएको किसानहरु बताउँछन । प्याज खरिद गर्न व्यापारी जुम्लाको गाउँगाउँमा पुगेका थिए ।
जुम्ली मार्सीधान ३ हजार ३ सय मेट्रिकटन उत्पादन भएकोमा २ सय मेट्रिकटन निर्यात भएको थियो । धानबाट २ करोड रुपैयाँ जुम्ला भित्रिएको कृषि कार्यालय बताउँछ । प्रतिकेजी एक सय रुपैयाँमा मार्सीधान बिक्रि भएको थियो । मार्सीधान जुम्लाको पहिचान हो । जुम्ली चामल ९० मेट्रिकटन निर्यात भएकोमा १ करोड ६२ लाख रुपैयाँ भित्रियो । प्रतिकेजी जुम्ली चामल १ सय ८० रुपैयाँ पर्छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार सिमी ४ हजार मेट्रिकटन उत्पादन भएको मध्ये १ हजार २ सय मेट्रिकटन जिल्ला बाहिर निर्यात भएको थियो । सिमीबाट एक करोड ८ लाख रुपैयाँ भित्रिएको छ । प्रतिकेजी ९० रुपैयाँमा सिमी बिक्रि भएको थियो । जौँ बाट ६२ लाख रुपैयाँ आम्दानी भएको छ । प्रतिकेजी ४० रुपैयाँमा १ सय ५५ मेट्रिकटन जौ जिल्ला बाहिर गएको हो । कुल ५ हजार ४ सय मेट्रिकटन जौँ उत्पादन भएको थियो ।
कर्णाली प्रदेशका भुमि व्यवस्था तथा कृषि सहकारीमन्त्री कुर्मराज शाहीले स्थानीय उत्पादन बेचेर कर्णाली पाल्न सक्नै हैसियत जुम्लाले राख्न सक्ने बताए । उनले भने,‘त्यसका लागि कृषिमा आधुनिकीकरण र किसानमा व्यवसायीकरण हुनुपर्छ । जब किसान व्यवसायिक रुपमा अघि बढ्छ । त्यहाँ समृद्धि आउने गर्छ । ’ उनले आगामी बर्षमा जुम्लाले दोब्बर ६२ करोड रुपैयाँका उत्पादन निर्यात गर्नुपर्ने बताए । उनले भने,‘जुम्ला कृषि क्षेत्रको संभावना बोकेको क्षेत्र हो । यही संभावनामा रहेर किसानले खेति प्रर्णालीलाई व्यवसायीकरण गर्दै लैजानुपर्छ । ’

Next Post

जुम्ली पत्रकारलाई क्षमता अभिबृद्धि तालिम

२२ असार २०७८, मंगलवार ०९:०९
गणेश रावत, जुम्लामा कार्यरत पत्रकारहरुलाई क्षमता अभिबृद्धि तालिम दिइएको छ । सुचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ शाखा जुम्लाको सहकार्यमा पत्रकारहरुलाई तीन दिने क्षमता अभिबृद्धि तालिम दिइएको हो । तालिममा समाचार संकलन,लेखन र सम्पादन लगायतका बिषयमा सहजीकरण गरिएको थियो । प्रशिक्षक डा. बिजय मिश्रले तालिमको सहजीकरण गरेका […]