जुम्लामा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठ्यघरको अप्रेसन

  ।   २३ पुष २०८०, सोमबार १२:१६

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक ल्याप्रोस्कोपी प्रविधिबाट पाठ्यघरको सफल अप्रेसन गरिएको छ । तातोपानी गाउँपालिका–४ गिडीखोलाकी ३५ वर्षीया सम्झना पाण्डेको पाठेघरको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो । १७ वर्षको कलिलै उमेरमा विवाह गरेकी पाण्डेलाई पाठेघरको संक्रमण भएको थियो । उनका दुई वटा बच्चा जीवित छन् भने पाँच वटा बच्चा खेर गएका थिए ।
अस्पताल आउदा उनको रक्तस्राव धेरै भइरहेको थियो । जसले पाठ्यघरमा संक्रमण देखिएको थियो । पाठ्यघर पनि ठुलो थियो । महिनावारी हुंदा समेत धेरै रगत बगिरहेको हुन्थ्यो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. राजिब शाहले भने,‘एक बर्ष देखि औषधि सेवन गर्न दिइएको थियो तर औषधि सेवन नियमित नगर्दा पाठ्यघरमा समस्या देखिएपछि ल्याप्रोस्कोपी प्रविधिबाट पाठ्यघर निकालिएको हो । ’
डा. शाहका अनुसार संझना एक हप्तामा निको भएर घर फर्किने छिन् । अस्पताल निर्देशक डा. राजीव शाहको नेतृत्वमा डा. सुवि बस्न्यात, डा. रवि खापुङ, डा. ललित धामी, स्वास्थ्यकर्मी सविना मानन्धर, राज खत्रीको टोलीले ल्याप्रोस्कोपी प्रविधिबाट पाठेघरको सफल अप्रेशन गरेको थियो ।
अप्रेसनमा संलग्न चिकित्सकहरुका अनुसार यो प्रविधिबाट अप्रेसन गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने, शल्यक्रिया गर्दा घाउको दाग सानो देखिने, थप रगत आवश्यकता कम पर्ने, संक्रमणको जोखिम कम हुने र बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्नेजस्ता फाइदा हुन्छन् ।
पेटमा स–साना घाउ बनाएर दूरविनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधि नै ल्याप्रोस्कोपी हो । पछिल्लो समय नेपालमा भित्र्याइएका प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो विधीका रुपमा चिनिन थालेको डा. शाहले बताए ।
‘यो विधिअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अंगमाथि प्वाल बनाएर क्यामेरा राखिन्छ, जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ,’ उनले भने । स्त्री रोगसम्बन्धी पाठेघरमा ट्युमर पलाएको, डिम्ब वा नलीमा बच्चा बसेमा, पाठेघरबाट बढी रगत बगेमा, पेटमा मासुको डल्लो पलाएमा, पाठेघर आफ्नो ठाउँबाट तल झरेमा, स्थायी बन्ध्याकरण र पाठेघरमा लाग्न सक्ने विभिन्न किसिमका रोगहरू पत्ता लगाउन र उपचार गर्न ल्याप्रोस्कोपी विधि निकै सजिलो विधिका रुपमा हेरिदै आएको छ ।
डा. शाहले कर्णालीमै पहिलो पटक ल्याप्रोस्कोपी प्रविधिले पाठ्यघरको अप्रेसन भएको बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले काठमाडौं,विराटनगर र झापा लगायतका थोरै स्थानहरुमा मात्रै यो प्रविधिको प्रयोग हुने गरेको बताए ।

Next Post

काम खोज्दै कालापहाडदेखि कर्णाली

२३ पुष २०८०, सोमबार १२:१६
मौसमी रोजगारको खोजीमा जुम्लीहरू कालापहाडतिर लस्कर लागिरहेका बेला भारत उत्तरप्रदेशको बलारामपुर, उत्रौलाका २८ वर्षीय रामकिसन बर्मा भने गत चैतमा काम खोज्दै जुम्ला आइपुगेका थिए । हरेक वर्ष दसैं तिहार सकिने बित्तिकै ताँती लागेर कालापहाड जाने जुम्लीहरूको चलनै जस्तो भइसक्यो । तर यो चलनमा केही वर्षयता फरक दृश्य देखिन थालेको छ । रामकिसन अहिले […]